राजेन्द्र खनाल,

धमिरा लागेर मक्किएको
भत्किनै लागेको
हाम्रो गाउँको एउटा जीर्ण पार्टी

बच्यो फेरि !
बचे पार्टीमा बसेर दैनिक बेतुकका फुटानी लाउने
गाउँका अगुवा भनिने बाहरु पनि !
बचे तिनै बाहरुका सुर्तीका टुकुरा बेरिदिने सुसारेहरु
गफमा ताली पिट्ने, झ्याली पिट्ने वानर सेनाहरु
बचे उखानमा गद्गदाउने निला मसिहाहरु !
बचे सुटुक्क बाका खल्तीका ललिपप चोर्ने मुसाहरु
मुख मीठो पारेर जिब्रो पड्काउने ब्वाँसाहरु !

थुप्रै हाम्रा तन्नेरी , दौँतरी जिब्राका गुलिया स्वादहरु !
अनि
बच्यो त्यही पार्टी भित्रको एउटा ठूलो महाराज कुर्सी
बच्ने भयो हाम्रा बिष्णु दाजैको बलौटे
टाहारवारी सम्याउने सपनाहरु !
घडेरीनै घडेरी बनाउने कल्पनाहरु
बचे फेरि गोकुल साना बाहरुका माधव बाजेहरु
सगै बसेर मार्सी भोज खाने सपनाहरु !
र बाँच्ने भए फेरि
ती गाउँको चौताराहरुमा
पिपलको बोट र तुलसीको मोठ
रोप्नै हुन्न भन्ने योगे दाईका अडानहरु
बाँच्ने भए सिटामोलसग राजनीति बेच्ने
राता मान्छेका बगानहरु !

बाँच्ने भए अझै कयौ बर्ष
ती पागल बैधाङ (केसी )बालाई
घाटसम्मै पुगेको हेर्ने रन्जित सपनाहरु
धन्न कसो कसो बाँचेनछन् ती एकाथरी
धमिला सपनाहरु !
अव त देउन बा
ए देउबा भन्दै
मागेर खान खोज्ने
केही बर्ष देखिप्रचण्ड भोकाएका
खन्चुवा भोकाहरुका सपनाहरु !

तै पनि
अचम्मै रमिता छ आज गाउँमा
बा अनि बाहरु र काकाहरुको रत्यौलीले
हिजो साँझ मात्र गाउँको पार्टी भत्काउन तम्सिनेहरु
आज चारसुरका खम्बा बनेका छन् !
आगो सल्काउन झिझा बटुल्नेहरु आज
झार उखाल्न तम्सिएका छन्
तर बिडम्वना
बाहरु बाहेकको सिङ्गो गाउँमा
चित्कार छ
महामारीले सोत्तर छन् गाउँले
परिस्थिति अलि उल्टो पनि छ !
रगतको जोहो गर्दैछन् साइवर अपराधीहरु
सास फेर्ने हावा खोज्दै भौतारिएका छन् !
बिना बर्दी
बर्दीको मर्यादा नाग्न खोज्नेहरु !

हारगुहार छ गाउँमा
हनहनी ज्वरो छ गाउँमा !

तिमी बिराजमान छौ महाराजा कुर्सीमा
पार्टी वरिपरिको डुङ्गडुङ्ती गन्हाउने हिलो
हातैले मुछेर भए पनि
थोत्रो कुर्सीको धुलो आफ्नै कोटले पुछेरै भए पनि !

तर बाँचेनन् ती हाम्रा थुप्रै बाहरुका प्राण
र बचेन मेरो आफ्नै बाको सपना
एक मुठी अक्सिजनको अभावमा !
तिम्रो यो बिराजमान तस्बिरमा
शुभकामना लेख्ने सपना
एक पाउण्ड रगतको अभावमा
त्यसैले
सबै सबै लेख्न बोल्न हेर्न नभ्याएका
प्राणहरुको शुभकामना छ बा तिमीलाई

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्