बिर्तामोड, जेठ १ । एकका लागि एक अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ ।

अभियानले शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलनमा दाताहरुले सो प्रतिबद्धता जनाएका हुन् । अभियानको मुख्य साझेदार संस्थाहरु सहारा नेपाल र अन्तर्राष्ट्रिय झापाली समाजले एक–एक सय थान अक्सिजन सिलिन्डर प्रदान गर्ने जनाएका छन् ।
त्यस्तै, अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अस्ट्रेलियाको किंग्सटन इन्स्टिच्युटले १० थान सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता जनाएको छ । इन्स्टिच्युटका सञ्चालक दिपक खनालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अभियानले यसअघि स्थापना गरेको पिसिआर प्रयोगशालाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गरेको २५ लाख रुपैयाँ संकलन समितिका संयोजक खनाल थिए । उनकै अगुवाई संसारभर रहेका झापालीले २५ लाख जुटाउन सहयोग गरेका थिए ।
झापा बिर्तामोड निवासी खनाल झापाली समाज अस्ट्रेलियाका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका वरिष्ठ उपाध्यक्ष हुन् । उनले यसअघि पनि सामाजिक कार्यका लागि लाखौँ रुपैयाँ सहयोग गरिसकेका छन् ।
त्यस्तै, रोटरी क्लब अफ बिर्तामोडले पाँच थान अक्सिजन सिलिन्डरको प्रतिबद्धता जनाएको छ भने रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले पनि पाँच थान सिलिन्डरको प्रतिबद्धता जनाएको छ ।
रोटरीका तर्फबाट अध्यक्ष निर्मल भट्टराई र प्रतिष्ठानका तर्फबाट महासचिव गोपाल ओलीले प्रतिबद्धता जनाएका हुन् । यी दुवै सामाजिक संस्था अभियानको स्थापनाकालदेखिकै सदस्य संस्था हुन् ।
यसैबीच, झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नम्बर ४ ले सिलिन्डर खरिदका लागि नगद ५१ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । मञ्चका अध्यक्ष सुनिल भेटवालले पत्रकार सम्मेलनमार्फत सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
अभियानलाई व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त भइरहेको छ । अभियानको सचिवालयका कर्मचारी मातृका सुवेदीका अनुसार पहिलो दिन ९ जनाले सिलिन्डरबापतको १५ हजार रुपैयाँका दरले सहयोग गरेका थिए । शनिवार दोस्रो दिन साँझसम्म २० जना पुग्ने सुवेदीले बताए ।
झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गर्न लागेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्काललाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको छ ।
अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लगभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।
अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए ।
अभियानसँग हाल १५ लाख ७७ हजार रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि ढुवानीसहित लगभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ ।
दोस्रो चरणमा चार कार्यक्रम
दोस्रो चरणमा अभियानले अक्सिजन बैंकको स्थापना गर्ने, एक्सरे मेसिन खरिद, डाक्टर परामर्श सेवा र कोभिड संक्रमित विपन्न परिवारहरुका लागि खाद्यान्न सहयोग कार्यक्रम सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा संयोजक गिरीले कार्यक्रमबारे जानकारी दिए । अक्सिजन बैंकका लागि काम सुरु भइसकेको छ भने एक्सरे मेसिन स्थापना गर्न प्रक्रिया अघि बढाइएको छ ।
झापा जिल्ला सहकारी संघको पहलमा अभियानमार्फत एक्सरे मेसिन सञ्चालनमा ल्याइने संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए । त्यसका लागि संघले काम गरिरहेको बताइएको छ । एक्सरे मेसिन हाल पिसिआर ल्याब रहेको कनकाईस्थित समर्पण भवनमा स्थापना गरी सञ्चालनमा ल्याइने ढकालले बताए ।
२०२० को मे १ तारिखबाट सुरु भएको अभियानले पहिलो चरणको कोरोना संक्रमणको बेला एक करोडभन्दा बढी खर्चमा पिसिआर ल्याब स्थापना गरेको थियो । ल्याब स्थापना भएपछि झापालगायत साविक मेची अञ्चलबासीको कोरोना परीक्षणमा सहज भएको छ ।
यसअघि पनि अभियानले अघिल्लो वर्षको लकडाउनका बेला विपन्न वर्ग तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरु भोकै नहुन् भनेर एक परिवारले एक विपन्न परिवारलाई सहयोग भनेर २ हजार रुपैयाँका दरले सहयोग संकलनबाट अभियान सुरु गरेको थियो ।
अभियानले झापामा भिटिएम, आरडिटी किट वितरण गर्नुका साथै, क्वारेन्टिनमा खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्