झापा , जेठ २ । पछिल्लो चौबीस घण्टामा झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अघिल्लो दिन शनिवार कसैको पनि मृत्यु नभएको झापामा आइतवार दुई महिलासहित तीनजनाले ज्यान गुमाएका हुन् । यसक्रममा मेचीनगर ९ की बुढाथोकी थरकी ८६ वर्षिया बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शनिवार राति १०.१५ बजे मृत्यु भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए । योसँगै मेचीनगरमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

त्यस्तै झापा गाउँपालिका–६ आदर्श टोलकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए । क्यान्सर रोगले समेत पीडित महिलाको होम आइसोलेसनमै शनिवार बेलुका ७ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिए । योसंगै झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको सँख्या ३ पुगेको छ ।

त्यस्तै कमल ६ का बस्नेत थरका ७८ वर्षिय बृद्धको आज दिउँसो मृत्यु भएको छ । आम्दा अस्पताल दमकमा उपचारका क्रममा उनको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले जानकारी दिए ।योसँगै कोरोनाको दोस्रो लहरमा कमलमा दुईजनाको मृत्यु भएको छ । त्यहाँ १५४ जना सक्रिय संक्रमित रहेको र २५ जना निको भएर डिस्चार्ज भएको अर्यालले बताए । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १७४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्