झापा , जेठ ३ । पूर्वी सीमा नाका काँकरभिट्टा दुई साताका लागि पूर्णरुमा बन्द गरिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएको जनाउँदै भारतको पश्चिम बंगाल सरकारले आइतवारदेखि नाका पूर्णरूपमा बन्द गरेको हो । सो समयमा मानिस आवतजावत निषेध गरिएको जानकारी नेपाल पक्षलाई आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिम बंगाल सरकारले जेठ २ गतेदेखि १६ गते बिहान ६ बजेसम्म नाका बन्द गरिएको जानकारी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । सो अवधिमा औषधि, खाद्यान्न, डिजेल, पेट्रोल, एलपी ग्यास तथा अक्सिजन बुलेटबाहेक कुनै पनि सामान र सवारी साधन आयात हुने छैन । पश्चिम बंगाल सरकारले सो अवधि थप हुन सक्ने समेत जनाएको छ । भारतीय पक्षले नेपाली तथा भारतीय नागरिक तथा अन्य सबै प्रकारका सवारी साधनसमेतलाई आवतजावतमा पूर्ण रोक लगाइदिन भनेको झापा प्रहरीले जनाएको छ । पश्चिम बंगाल सरकारले नेपालका अन्य जिल्लाबाट समेत झापाको काँकरभिट्टा नाका हुँदै भारत जान स्वदेशी तथा विदेशी नागरिक र सवारीसाधन आउन सक्ने भएकाले सम्बन्धित ठाउँमा जानकारी गराउन समेत अनुरोध गरेको प्रवक्ता थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्