झापा, जेठ ४ । झापाको दमकमा आज एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दमक ५ स्थित हरीऊँ कोलनीमा बस्ने ३५ बर्षिया महिलाको लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज बिहान ३.१५ बजे मृत्यु भएको हो । उनी बैशाख ३० गतेदेखि त्यस अस्पतालमा उपचाररत थिइन् । बैशाख २४ गते धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा उनलाई पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । दमकमा दोस्रो चरणको नयाँ भेरियन्टसहितको कोराना संक्रमणका कारण ५ महिला र ४ पुरुषसहित ९ जनाको ज्यान गइसकेको छ । दमकमा ५ सय भन्दाबढी सक्रिय संक्रमित छन् ।

त्यस्तै बाह्रदशी गाउँपालिका ५ मा कोरोनाको लक्षण भएका एक पुरुषको आज बिहान मृत्यु भएको छ । श्वासप्रश्वास , ज्वरो लगायतका समस्या भएका राजवंशी समुदायका ५२ वर्षिय पुरुषको बिहान साढे ३ बजे घरमै मृत्यु भएको हो । उनको पिसिआर परीक्षण गरिएको थिएन । कोरोना संक्रमणकै कारण मृत्यु भएको आशंकामा गाउँपालिकाले अन्त्येष्टिका लागि नेपाली सेनालाई बोलाएको थियो । तर ,पिसिआर रिपोर्टबाट संक्रमण पुष्टि भइनसकेकाले आफूहरुले अन्त्येष्टि गर्न नमिल्ने चारआलीस्थित नयाँ श्रीनाथ गणले जनाएको छ । स्वास्थ्य सुरक्षाका सावधानी अपनाउँदै घर परिवारलाई नै अन्त्येष्टि गर्न लगाइएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए । आजै बिर्तामोड र भद्रपुरका दुईजना बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी गौरादह ७ निवासी नेपाली कांग्रेसका पूर्व नगर सभापति कृष्णहरि थपलियाको पनि कोरोना संक्रमणवाट मृत्यु भएको छ ।

थपलियाको काठमाडौंमा उपचारका क्रममा सोमबार बेलुकी ७ बजे मृत्यु भएको हो । मेरुदण्डको समस्या लिएर थपलिया दुई साताअघि उपचारका लागि काठमाडौंको हरिसिद्धी अस्पताल गएको र त्यहाँ उपचारका क्रममा संक्रमण समेत पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्