चारआली , जेठ ५ । कोरोना भएकी गर्भवती श्रीमतीलाई छाडेर श्रीमान् बेपत्ता भएका छन् ।

मेचीनगर नगरपालिका १३ स्थित चारआली बजार नजिकै डेरा गरी बस्दै आएकी गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर उनका श्रीमान सम्पर्कविहीन बनेका हुन्।
संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेराबाट निकालिदिएका छन् । कोठाबाट निकालिएकी ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएको मेचीनगर–१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा गएर पिसिआर परीक्षण गराएकी थिइन्। सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि श्रीमानले उनलाई टहरामा लगेर छाडेका हुन्।
वडाध्यक्ष सिग्देलले वडाभित्रको घटना भएकाले जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगिएको बताए ।

नगरपालिकाको आइसोलेसनमा आफन्तबिना संक्रमितलाई राख्न नमिल्ने भन्दै उनलाई त्यहाँ राख्न सकिएन। त्यसपछि घटनाबारे नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेतीलगायत कोभिड आइसोलेसन वार्डमा कार्यरत चिकित्सकसमेतलाई जानकारी गराएको वडाध्यक्ष सिग्देलले बताए।

उनले भने, ‘उनीहरूले पनि हुँदैन भनेपछि ती संक्रमित महिलालाई भद्रपुरस्थित मेची अस्पतालको कोभिड उपचार केन्द्रमा लगेर भर्ना गरेको छु, महिलाको साथमा उनकी बडीआमा पनि आएकी छन् ।’ ‘नगरवासीको स्वास्थ्य उपचारमा सहज होस् भनेर एमबिबिएस डाक्टरसहित स्थापना गरिएको नगरपालिकाको आइसोलेसनमा नगरभित्रै बसोबास गर्ने नागरिकलाई पनि उपचारका लागि अन्यत्र नै लैजानुपर्दा आफूलाई दुःख लागेको छ,’ उनले भने।
दमक नगरपालिका–५ सन्देश कँडेलसँग ती महिलाले २०७७ साल मंसिरमा प्रेम विवाह गरेको खुलेको छ । श्रीमान् कँडेल पेशाले गाडीका सहचालक हुन्। महिलाको माइती चारआली नै हो।विवाहपश्चात् उनीहरू यहाँ डेरा गरी बस्दै आएका थिए। महिलाको उमेर १७ वर्ष रहेको वडाध्यक्ष सिग्देलले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्