झापा, जेठ ५ । बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड हस्पिटल तथा आइसोलेसन सेन्टरका लागि छठ समाज सेवा समितिले ५ थान अक्सिजनसहितको सिलिन्डर प्रदान गरेको छ ।

बुधबार नगरपालिकाले निर्माण गरेको आइसोलेसन भवनमा उपस्थित भई अध्यक्ष राजकुमार गुप्तासहितको छठ समाज सेवा समितिको टिमले नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई सिलिन्डर हस्तान्तरण गरेको हो ।समितिले यसअघि ‘एकका लागि एक’अभियानलाई समेत ५ थान अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेको जनाएको छ ।बिर्तामोड नगरपालिकामा तत्कालका लागि अक्सिजनको अभाव नभएको नगरका प्रवक्तासमेत रहेका वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए ।उनले नगरमा अक्सिजन प्लान्टको स्थापनाका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । बिर्तामोड नगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको आइसोलेसन सेन्टर तथा ५ बेडको कोभिड हस्पिटल सञ्चालनमा ल्याएको छ ।