झापा ,जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् ।
मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी हुन् । त्यसप्रति विपक्षी दलहरुले घोर आपत्ति जनाएका छन् ।

संसद् विघटन र चुनाव घोषणा षडयन्त्रको क्लाइमेक्स– कांग्रेस
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा पूर्वनियोजित षड्यन्त्र श्रृंखलाको क्लाइमेक्स भएको बताएको छ ।
साथै उसले प्रधानमन्त्री र राष्ट्रपतिका कदमबारे छलफल गर्न आज बैठक बोलाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कात्तिक र मंसिर चुनावका लागि घोषित मिति उपयुक्त नभएको बताएका छन् ।
‘सर्वोच्चले बदर नगरिदिएको भए वैशाखको मध्यावधि कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा पथ्र्यो’ उनले भने, ‘महामारीको तेस्रो लहरको आँकलन सुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि घोषित मिति होइन ।’ उनले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरेका छन् ।

मध्यरातमा डकैती गरियो –माओवादी
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ’मध्यरातको डकैती’ को संज्ञा दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ’मध्यरातमा डकैती गरियो÷ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’
हाम्रै पार्टीका साथीहरुले गर्दा मुलुक मध्यावधि निर्वाचनमा गयो – परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री एवं नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेकै सांसदहरुको कारण मुलुक मध्यावधि निर्वाचनमा गएको बताएका छन् ।
मन्त्री ज्ञवालीले एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका कारण मुलुक मध्यावधितर्फ गएको बताएका हुन् ।
‘अनिवार्य रुपमा मध्यावधिमा जानु थियो । यो कुरा राष्ट्रपतिको पत्रले नै प्रस्ट पारेको थियो । संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बन्न दिनु भएन साथीहरुले । यदि हाम्रा साथीहरुले उता हस्ताक्षर नगरेको भए महन्थजीको दलका १२ जनाले अन्त हस्ताक्षर गरे पनि फरक पर्दैनथ्यो,’ मन्त्री ज्ञवालीले भने, ‘हाम्रो १२१ र महन्थजीहरुको २० जना रहँदा संसद जोगिन्थ्यो । विश्वासको मत प्राप्त हुने वातावरण हुन्थ्यो । संसदले पूर्ण कार्यकाल बिताउन पाउँथ्यो । हाम्रै साथीहरुको कारणले गर्दा मुलुक मध्यावधिमा गयो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्