बिर्तामोड , जेठ ८ । झापामा कोरोना संक्रमितको मृत्यु दर घट्न सकेको छैन । यसक्रममा आज जिल्लाका ७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

बिर्तामोडको बिर्तासिटी हस्पिटलमा मेचीनगर नगरपालिकाका वडाध्यक्षसहित तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो । आज मध्यान्ह बिर्तासिटी हस्पिटलमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५४ वर्षिय चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । कोरोना संक्रमण भएपछि उनी विगत ११ दिनदेखि त्यहाँ उपचाररत रहेका थिए ।स्वास्थ्यमा समस्या देखिएपछि बैशाख २७ गते उनी हस्पिटल भर्ना भएको र २८ गते गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । मेचे काँग्रेसका जिल्ला सदस्य, भातृ संगठन आदिबासी जनजाति संघ झपाका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आफतका पूर्व कन्द्रीय अध्यक्षसमेत रहेका थिए । त्यस्तै आज बिहान बिर्तासिटी हस्पिटलमा हल्दिबारी १ का २९ वर्षिय ठाकुर थरका पुरुषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए । त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ६२ वर्षिय पुरुषको गएराति बिर्तासिटी हस्पिटलमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । हिजो बिहान मात्र बुद्धशान्तिका एक संक्रमितको मेची अस्पतालमा मृत्यु भएको थियो । बुद्धशान्तिमा नयाँ भेरियन्टबाट ३ जनाको मृत्यु भइसकेको अधिकारीले बताए ।

त्यस्तै आज दमकका थप २ संक्रमितको मृत्यु भएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमक ९ का २८ र ६३ बर्षिय पुरुषको मृत्यु भएको हो । २८ बर्षिय संक्रमित पुरुषको बिएण्डसी अस्पताल बिर्तामोडमा हिजो बेलुका मृत्यु भएको हो । यस्तै अर्का संक्रमित ६३ वर्षिय बृद्धको भने दमकको लाइफलाइन अस्पतालमा हिजो बेलुका नै मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।योसँगै दमकमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १४ पुगेको छ । त्यस्तै गौरादह ४ का ३० पुरुषको कोशी कोभिड अस्पतालमा गएराति मृत्यु भएको छ । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

त्यस्तै कनकाई ८ का ५२ वर्षिय पुरुषको नोवेल हस्पिटल विराटनगरमा आज बिहान मृत्यु भएको छ । बिर्तासिटी हस्पिटल बिर्तामोडमा संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि विराटनगर गएका थिए । योसँगै कनकाईमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ११ पुगेको छ । नोवेल हस्पिटलमै भद्रपुर ५ का ४० वर्षिय दिलिप सिंहको कोरोना संक्रमणबाट मृत्यु भएको भनिएपनि यसअघि नै उनको रिपोर्ट नेगेटिभ आइसकेको नगरपालिकाका कोभिड पर्सन मनोज भट्टराईले बताए । यसैबीच भद्रपुरस्थित मेची अस्पतालमा गएराति कोरोनाका कारण पाँचथरका ६० वर्षिय व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका व्यक्तिको शव करिव १२ घण्टापछि नेपाली सेनाको टोलीले दाहसंस्कार गरेको छ । उनलाई पाँचथरबाट उपचारका लागि जेठ ५ गते अस्पताल ल्याईएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्