झापा, जेठ १० । प्रतिनिधिसभा विघटन गरी सरकारले दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेकोप्रति लिम्बूवान राष्ट्रिय मोर्चाले विरोध गरेको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष मुक्साहाङ मेन्याङवो र महासचिव पकन्दी आङदेम्बेले आज प्रेस विज्ञप्ति जारी गरी लामो त्याग र वलिदानीपूर्ण संघर्षबाट अहिलेसम्म प्राप्त भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष राज्य, समानुपातिक समावेशीता जस्ता उपलब्धिहरुलाई रक्षा गर्नुका सट्टा तिनलाई समाप्त पार्ने र मुलुकलाई फेरि प्रतिगमनतर्फ धकेल्ने कार्य भएको उल्लेख गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेभगतमा संविधान कमजोर बनाएर देशलाई अन्धकारतर्फ धकेल्न उद्धत भएको विज्ञप्तिमा जनाईएको छ ।मोर्चाले यस्ता प्रतिगमनकारी कार्यको घोर आपत्ति जनाउँदै त्यस्ता हर्कतहरुका विरुद्धमा देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
मोर्चाले प्रतिनिधिसभाका बहुमत सदस्यहरुबाट प्रधानमन्त्रीमा दावी गरिएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विधिसम्मत हुँदाहँुदै सरकार र राष्ट्रपतिको मिलेगतमा संसद भंग गरी निर्वाचन घोषणा गरिनु जायज नभएको समेत ठहर छ ।