झापा , जेठ १० । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा गोविन्द केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

यमनको मरिबबाट प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको आरोप लगाउँदै सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

साथै उनले प्रधानमन्त्री ओली संरक्षित मेडिकल ‘माफियाका नाइके’द्वारा आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की नागरिकमाथि हुने राज्य आतंकको नमूना जनाएका छन् ।सोमबार बिहान प्रितम सुवेदीले आफूमाथि झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इँले भौतिक आक्रमणको चेतावनी दिएको बताएका थिए ।

डा.केसीद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन ।’
उनले आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक प्रधानमन्त्री ओली भएको आरोप लगाए । आफ्ना आर्थिक र राजनीतिक साझेदारमध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापास्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रूपमा सम्बन्धन दिलाउन ओलीले अनेक हथकण्डा अपनाएको उनको भनाइ छ ।

चिकित्सा शिक्षा नियमावली २०७७ का अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने स्मरण गराउँदै डा.केसीले बिएण्डसी मेडिकल कलेजले २०७३ सालयता आशयपत्र नवीकरण नगरेको दावी गरे । त्रिवि र केयु दुवैले यस अगाडि नै पाँचभन्दा बढी मेडिकल कलेजहरूलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐन अनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उनले स्मरण गराए । यस्तो अवस्थामा प्रधानमन्त्रीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको उनको भनाइ छ । प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको अक्ष्यम्य अपराध भएको उनको ठहर छ ।

साथै उनले प्रधानमन्त्री ओलीलाई झापा घटनामा भएको ९ जनाको हत्याकाण्डको मुख्य योजनाकार भएको बताए । ओली २०२८ सालदेखि २०२९ सालसम्म झापाका ग्रामीण कृषक, समाजसेवी र सर्वसाधारण गरी नौ जना व्यक्तिको हत्यामा संलग्न भएको अदालतले समेत पुष्टि गरेको उनको भनाइ छ ।केसीको विज्ञप्तिमा भनिएको छ, ‘उनी(केपीशर्मा ओली) धर्मप्रसाद ढकाल, ज्ञानप्रसाद ढकाल, बुटन चौधरी, विष्णुप्रसाद विमली, उद्रकान्त राजवंशी, ईश्वरी चुडाल, दुर्गा खरेल, ज्ञानबहादुर बस्नेत, कर्णबहादुर गौतमको हत्यामा संलग्न व्यक्ति हुन् । अदालतले समेत व्यक्ति हत्याको घट्नामा संलग्न भनी हत्यारा ठहर गरेको व्यक्तिलाई शासन सञ्चालनको जिम्मेवारीमा पुग्न दिनु हामी नेपाली जनताको पनि दुर्भाग्य हो भन्ने कुरा मनन गर्नु आवश्यक छ ।’यस्तै, डा. केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खाले अवैध निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरूलाई अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्