झापा , जेठ ११ । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीलाई बिएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटलसँग अनावश्यक रुपमा जोडेको भन्दै कार्यकारी निर्देशक दुर्गा प्रसाईँले आपत्ति जनाएका छन् ।

बिएण्डसीसँग अनावश्यक रुपमा जोडेर लगाएका भ्रामक , कपोलकल्पित, असत्य र झुठा अनर्गल आरोप तथा आक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको प्रसाईले विज्ञप्ति जारी गरी जनाएका छन् । डा. केसीले प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराएर बिएण्डसीलाई सम्बन्धन दिन खोजेको आरोप लगाउँदै सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका थिए । साथै उनले प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने कार्य गर्दै आएको बताएका थिए ।केसीले आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक प्रधानमन्त्री ओली भएको आरोप लगाएका थिए ।

प्रसाईँले कोभिड १९ को महामारीले आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिनरात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र प्रधानमन्त्रीउपर लगाईएका यस किसिमका भ्रामक, तथ्यहीन , झुठा, र निकृष्ठ गालीगलौजको घोर निन्दा र भत्सर्ना गरेका छन् । उनले बिएण्डसीलाई सम्वन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा नियमानूसार कामकारवाही अगाडि बढेको जानकारी दिएका छन् । हिजो बिहान आफ्ना सहयोगी प्रितम सुवेदीलाई प्रसाईँले भौतिक आक्रमणको चेतावनी दिएपछि केसीले विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्