झापा,जेठ ११ । झापाको बिएण्डसी टिचिङ अस्पताललाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयलाई दवाब आएको भन्दै त्यसप्रति विश्वविद्यालयका प्राध्यापकहरुले आपत्ति जनाएका छन् ।

केयू प्राध्यापक संघले चिकित्सा शिक्षा ऐनलाई लत्याएर बिएण्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढ्नु अनुचित र अवान्छित भएको ठहर गरेको हो । गत फागुन १२ गते बसेको विश्वविद्यालयको ८९ औं सभामा एजेण्डामा नै नभएको मेडिकल कलेज सम्बन्धनको विषय प्रवेश गराई काठमाडौं विश्वविद्यालयलाई बिएण्डसी कलेजलाई सम्बन्धन दिन दवाव दिएको संघले विज्ञप्तिमार्फत जनाएको छ । सो कुरा सभाको माइन्यूटमा आएपछि संघले लिखित रुपमा आपत्ति जनाएको थियो । काठमाडौं विश्वविद्यालअन्तरगत अहिले भएका कलेजहरुको नै अनुगमन र निरीक्षण गर्न हम्मे–हम्मे परिरहेका बेला थप सम्बन्धनका लागि दवाब दिएको कुरा संघलाई स्वीकार्य नभएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघले डा. गोविन्द केसीका प्रेस संयोजक प्रितम सुवेदीमाथि बिएण्डसीका सञ्चालक दुर्गा प्रसाइँले आक्रमणको धम्की दिएको घटनाको पनि निन्दा गरेको छ ।