बिर्तामोड, जेठ ११। झापा जिल्ला सहकारी संघले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

मंगलबार बिर्तामोडस्थित सहकारी संघको कार्यालयमा उक्त सामग्री प्रदान गरिएको हो । सहकारी संघको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु (भवानी) दंगाल र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
पत्रकार महासंघ झापाको आग्रहमा सहकारी संघले गुणस्तरीय मास्क तीन सय प्याकेट, सेनिटाइजर र फेससिल्ड तीन–तीन सय थान, अक्सिमिटर २० थान हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष ढकालले संकटको घडीमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि सहयोग प्रदान गरिएको बताए । उनले सुरक्षाकर्मीका लागि ६ लाख बढीको सामग्री संघले केही दिनअघि हस्तान्तरण गरेको पनि जानकारी दिए । संघले महामारीका समयमा गरेका काम र अबको योजना तथा अभियानबारे जेठ १२ गते बुधबार भर्चुअल पत्रकार भेटघाटमार्फत जानकारी गराउने जनाएको छ ।
संघका सचिव दंगालले जुममार्फत हुने पत्रकार सम्मेलनमा सहभागिताका लागि सबै पत्रकारमा अनुरोध गरेका छन् ।
संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले सहकारी संघलाई धन्यवाद दिँदै सहकारी संघसंग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने र संघका कार्यमा सहयोग गरेर जाने बताए ।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे, केन्द्रीय परिषद् सदस्य ज्ञानेन्द्र निरौला, महासंघका सदस्य राजेन्द्र गौतमलगायतको सहभागिता रहेको थियो ।