युएई , जेठ ११ । एनआरएनए युएईले युएईमा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

गत जेठ ७ मा अबुधाबीको मफरकमा रहेकोे एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न सहयोग गरेलगत्तै अबुधाबी, अलएन र दुबईमा चार समूहका १५ जना नेपाली कामदारहरुलाई खाद्यान्न वितरण गरेको छ ।
अलएनको एक निर्माण कम्पनीको मालिक फरार भएपछि बिचल्लीमा परेका ५ नेपाली कामदार, अबुधाबीको मुसाफामा रहेका एक समस्याग्रस्त सेक्युरिटी कम्पनीका ६ जना गार्ड र दुबईको सोही सेक्युरिटी कम्पनीका २ जना र एक जना भिजिट भिसामा अबुधाबीको लाइफलाइन एरियामा रहेका नेपालीलाई सहयोग वितरण गरिएको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मिडिया टास्क फोर्स सदस्य रामप्रसाद ढुंगेलले बताएका छन् ।
आइसिसी मिडिया टास्क फोर्स सदस्य ढुंगेलको समेत उपस्थितिमा भएको राहत वितरण कार्यक्रममा लाभान्वितहरुले एनआरएनए युएईसमक्ष नेपाल फर्कन समेत सहयोग गर्न आग्रह गरेका थिए ।
पीडित नेपाली कामदारहरुले एक वर्ष अगाडिदेखि भिसा सकिएको, कामविहीन भएको र काम गरेको ५–६ महिनाको तलब समेत नपाएको समस्याहरु एनआरएनए युएईसमक्ष राखेका थिए ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तरगत बैदेशिक रोजगार तथा कल्याणकारी बिभागको संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा युएईमा संचालित राहत तथा उद्दार परियोजनाअन्तर्गत जेठ १० र ११ गते राहत स्वरूप खाद्यान्न वितरण गरिएको एनआरएनए युएईका सहकोषाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले जानकारी दिएका छन् ।
गत जेठ ७ गते अबुधाबीको मफरकमा समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको अपेक्षा गर्दै नेपाली दूतावास अबुधाबी पुगेपछि एनआरएनए युएईले ८० जनालाई कम्तीमा १ महिनालाई खान पुग्ने चामल, दाल, तेललगायतका खाद्यान्न वितरण गरेको एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवालले जानकारी दिएका छन् ।
दूतावासमार्फत सूचना आएलगत्तै एनआरएनए युएईको एक टोलीले जेठ ७ गते राती ११ बजे वितरण गरिएको एनआरएनए युएईका केन्द्रीय सदस्य सुमन पराजुलीले बताएका छन् ।
राहत पाएपछि पीडित नेपाली युवाहरुले एनआरएनको नाम सुने पनि यो संस्थाले सामान्य तहका नेपालीहरुको दुःखमा साथ दिने रहेछ भन्ने प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिएका छन् ।
छोटो समयमा धेरै मात्रामा राहत व्यवस्थापन गर्न निकै मिहिनेत गर्नुपरेको एनआरएनए युएईका सहकोसाध्यक्ष तथा अबुधाबी क्षेत्रका राहत वितरण संयोजक फडिन्द्र ढकालले बताएका छन् ।
युएईमा काम गर्ने सिलसिलामा श्रमसम्बन्धी कुनै समस्या भएमा समाधानको लागि सम्पर्कमा आउन एनआरएनए युएईले आग्रह गरेको छ । विश्वमा ८२ भन्दा बढी देशहरुमा संजाल भएको एनआरएनएको युएई शाखा मजदुरमैत्री काम गर्नमा मध्यपूर्वमा अग्रपंक्तिमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्