झापा , जेठ ११ । पछिल्लो चौबीस घण्टामा झापामा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कनकाई र अर्जुनधारा नगरपालिकाका एक–एक पुरुष रहेका छन् । कनकाई नगरपालिका वडा नं १ का ३२ वर्षिय ओली थरका पुरुषको उपचारका क्रममा आज बिहान ६ बजे बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । उनलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै कनकाईमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।
त्यस्तै अर्जुनधाराका एक कोरोना संक्रमितको घरमै मृत्यु भएको छ । अर्जुनधारा ११ का ६० वर्षीय चौधरी थरका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो । उनलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।चौधरीको शवलाई परिवारका आफन्तले नै कनकाई माइमा अन्त्येष्टि गरेको अर्जुनधारा नगर स्वास्थ्य शाखाले जनाएको छ । परिवारका आफन्तले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अन्त्येष्टि गरेको कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए ।योसँगै कोरोनाको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या १० पुगेको छ । झापामा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २१३ पुगेको छ ।

झापामा थपिए २४७ जना संक्रमित
यसैगरी पछिल्लो २४ घण्टाभित्र झापाका विभिन्न पालिकामा २४७ जना कोरोना संक्रमित थपिएका छन् ।जसमा ११८जना महिला छन् ।संक्रमितमध्ये पीसीआर परीक्षणबाट २१६ र एन्टिजेनतर्फ ३१ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३१ महिलासहित ७० जना रहेका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा १५महिलासहित ३३ जना, दमकमा १४ महिलासहित २८ जना, अर्जुनधारामा १२ महिलासहित १८ जना, कनकाईमा ४ महिलासहित १५ जना, गौरादहमा ३ महिलासहित ४ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी, कचनकवलमा एक महिला र एक पुरुष , शिवसताक्षीमा २ महिलासहित ४ जना, झापामा २ महिला, कमलमा ८ महिलासहित १९ जना, बाह्रदशीमा ६ महिलासहित १३ जना, हल्दिबारीमा १ पुरुष, गौरीगञ्जमा २ महिलासहित ७ जना र ठेगाना नखुलेका २ महिला र १ पुरुषमा पनि संक्रमण भएको छ ।योसँगै झापामा कुल संक्रमित संख्या ९ हजार ५२० रहेको छ भने निको भएर घर फर्किनेको संख्या ५ हजार ४५० पुगेको छ । मंगलवार ९४ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्