बिर्तामोड , जेठ १२ । बिर्तासिटी अस्पताल भर्ना भएका इलामका एक व्यक्ति कोरोनामुक्त भएपनि अस्पतालबाट घर फर्कन सकेका छैनन् ।

अस्पताललाई बुझाउनु पर्ने शुल्क बुझाउन नसकेर सूर्योदय नगरपालिका–९ बस्ने सरोज गदाल डिस्चार्ज हुन सकेका हुन् । गदालको पारिवारिक अवस्था निकै कमजोर छ । आफ्ना बुवाले अस्पतालको २ लाख बुझाउन नसक्दा अस्पतालको बेडमा बस्न बाध्य हुनु परेको छोरी कृपा गदालले कताइन् । उनी बैशाख १५ गते अस्पताल भर्ना भएका थिए । सूर्योदय नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माले गदाल परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले विभिन्न संघसंस्थामार्फत ३० हजार रुपैंयाँ सहयोग गरेको बताए । कोरोनाका बिरामीलाई कुनै छुटको ब्यवस्था नरहेको र रकम धेरै उठेकोले बिरामीलाई निकाल्न समस्या भएको शर्माको भनाई छ । बिरामीका परिवारले अस्पताललाई अहिलेसम्म करिब ४० हजार रुपैंयाँ बुझाईसकेको बताएका छन् ।

अस्पताल प्रशासनका प्रमुख दिल बस्नेतका अनुसार बिरामीले अस्पताललाई करिब ९४ हजार र फार्मेसीलाई ५३ हजार रुपैंयाँ भुक्तानी गर्न बाँकी छ । बिरामीका आफन्तले केही समयपछि रकम बुझाउने बताएर समयमा भुक्तानी नगर्दा समस्या भएको बस्नेतले बताए । बिरामीको आर्थिक अवस्था कमजोर रहेकै कारण पैसा जम्मा गर्न समस्या भएको भए केही रकम छुटको लागि आफूले पहल गर्ने बस्नेतको भनाई छ । गदाललाई अस्पतालबाट निकाल्न सूर्योदय नगरपालिका तथा माईजोगमाईका युवाहरु लागिपरेका छन् । बिरामीको आर्थिक अवस्था कमजोर रहेकै कारण पैसा जम्मा गर्न समस्या भएपछि पत्रकार दिनेश महतको संयोजकत्वमा गदाललाई घर फर्काउने अभियान शुरु गरिएको छ । स्थायी घर खोटाङ भएका गदाल ३३ बर्ष अगाडि कामको सिलसिलामा फिक्कल आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्