बिर्तामोड, जेठ १२ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकका लागि एक अभियानलाई १५ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग कार्यक्रमअन्तर्गत क्लबले १५ लाख १५ हजार रुपैयाँ प्रदान गरेको हो । बुधबार अभियानको सचिवालय सहारा नेपाल साकोसको मुख्य कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच क्लबका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) नेतृत्वको रोटरी टोलीले अभियानलाई चेक हस्तान्तरण गर्यो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले चेक ग्रहण गर्दै रोटरी बिर्तामोड मिडटाउनलाई धन्यवाद दिए । क्लबले १०१ थान सिलिन्डरबापतको रकम सहयोग गरेको हो । क्लबलाई ललितपुरको हिमालयन डिस्टिलरी प्रालिले १२ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । क्लबले यसअघि नै अक्सिजन बैंक स्थापनाको उद्देश्यले हिमालयन लगायत कम्पनीसँग सहयोगका लागि अनुरोध गरेको थियो ।
त्यस्तै, नेपाली सेनाका कर्णेल मुक्स याक्थुम्बाबाट ८ थान सिलिन्डरबापतको १ लाख २० हजार रुपैयाँ प्राप्त भएको क्लबले जनाएको छ । बाँकी १० वटा वापतको रकम क्लबका पदाधिकारी तथा सदस्यबाट सहयोग जुटेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा क्लबका सदस्य तथा उद्योगी उमेश डालमिया, चार्टर प्रेसिडेन्ट सन्तोष अग्रवाल, सेक्रेटरी सिद्धार्थ नवीन उप्रेती, डाइरेक्टर गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा डिस्टिलरीका प्रतिनिधि तथा डिस्ट्रिब्युटर कुमार थापाले कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रोटरीमार्फत अभियानलाई सहयोग गरेको बताए । अभियानलाई अक्सिजन सिलिन्डरबापत सहयोग गर्ने रोटरी क्लब अफ बिर्तामोड मिडटाउन सबैभन्दा ठूलो संस्था भएको छ । यसअघि सहारा नेपाल र अन्तर्राष्ट्रिय झापाली समाजले एक–एक सय थान अक्सिजन सिलिन्डर प्रदान गरेका छन् ।
अभियानलाई बुधवारसम्म व्यक्तिगत तथा संस्थागत रुपमा ६ सयवटा भन्दा बढी अक्सिजन सिलिन्डरवापतको रकम देश तथा विदेशबाट हस्तान्तरण भइसकेको छ । हालसम्म ९ सयभन्दा सिलिन्डरवापतको रकम संकलन भइसकेको सचिवालयले जनाएको छ ।
झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगिसकेको छ । अभियानले सिलिन्डर अभाव भएका अस्पताललाई वितरण पनि सुरु गरिसकेको छ ।
पहिलो चरणमा आएको अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय झापामार्फत आवश्यकता अनुसार अस्पतालहरुलाई दिइएको हो । त्यस्तै, अस्पतालपछि होम आइसोलेसनमा बसेका अक्सिजन आवश्यक परेका कोरोना संक्रमितलाई पनि प्राथमिकताका आधारमा सिलिन्डर दिइनेछ ।
[…] […]