बिर्तामोड , जेठ १५ । महिला सशक्तिकरणको पहिलो आधार आर्थिक सम्बृद्धि रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

वीरता लेडी जेसीजद्वारा जुम अनलाइनमार्फत आयोजित “महिला उद्यशीलता सम्भाब्यता र चुनौती“बिषयक अन्तरक्रियाका सहभागीहरुले आर्थिक सक्षमताले महिला सशक्तिकरणमा आधारको काम गर्ने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा प्रमुख वक्ता रहेको अन्तरक्रियामा महिला उद्यमीको वर्तमान अवस्था,सम्भावना, चुनौती,महिला उद्यमीका संघर्ष र सफलताका बिषयमा छलफल भएको थियो । राणाले अहिले उद्यममा महिलाहरुको उपस्थिति आशलाग्दो रुपमा बढेको र उद्यमी बन्नलाई आँट र हिम्मत आवश्यक रहेको बताइन् ।साथै उनले पुरुषको तुलनामा महिलाहरुलाई उद्यमीको रुपमा स्थापित हुन भने अहिले पनि बिभिन्न चुनौतीहरु रहेको दर्शाइन् ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुनेश्वर खनालले महिलाहरु मात्रै नभई अहिलेको समयमा महिला– पुरुष दुबै नै उद्यम र व्यवसायमा आउनुपर्ने बताए । जसले देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने उनको जिकिर थियो । साथै यस्तो बिषम परिस्थितिमा पनि भर्चुअल माध्यमबाटै भएपनि महत्वपूर्ण बिषयमा अन्तरक्रिया गरिएकोमा वीरता लेडी जेसीजलाई उनले धन्यवाद दिएका थिए ।नेपालभरबाट जेसीज, नन जेसीज र महिला उद्यमी गरी करीव २ सय जना सहभागी रहेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई,नेपाल जेसीजका कानूनी सल्लाहकार गोकुल सापकोटा,क्षेत्र ‘क’ निरुपित उपाध्यक्ष रजनी थापालगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

अन्तरक्रियामा राप्रपा बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेल,बिर्तामोड उद्योग वाणिज्य संघ सह–कोषाध्यक्ष राधिका चुडाल,नारी सन्चार गृह झापाकी संस्थापक साबित्रा दाहाल,नेपाल जेसीज पूर्व कार्यकारीणी उपाध्यक्ष रिता न्यौपाने,उद्यमी मिरा काफ्ले,हेटौडा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठ;सतासीधाम जेसीजका निवर्तमान अध्यक्ष कुमारसिंह सावालगायतले वक्ता राणासामु उद्यमसंग सम्बन्धित विभिन्न जिज्ञाशा राखेका थिए ।
वीरता लेडी जेसीज अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक युनिता दवाडीले स्वागत गरेकी थिइंन् भने संचालन महासचिव हिमा पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्