झापा , जेठ १५ । पछिल्लो पटक झापाका ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा दुई महिला र चार पुरुष रहेका छन् । अर्जुनधारा, मेचीनगर , दमक , हल्दिवारी , गौरीगञ्ज र बाह्रदशीका एक–एकजना संक्रमितको मृत्यु भएको हो । अर्जुनधाराका एक पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।अर्जुनधारा ११ निवासी ४० वर्षीय कटुवाल थरका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतका अनुसार बिर्तामोडको बिर्तासिटी हस्पिटलमा राति मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । त्यस्तै मेचीनगरमा आज फेरि एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर १० निवासी नेपाल यातायात मजदुर संघ प्रदेश न. १ का उपाध्यक्ष एवं नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि देउमान लिवाङ्गको उपचारका क्रममा बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो । उनको आज बिहान २ बजे उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनलाई १८ दिनदेखि सोही अस्पतालमा राखेर उपचार भईरहेको थियो । सोहि अस्पतालमा नै एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आएको थियो । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
त्यस्तै झापाको दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ५ का ७४ वर्षिय बृद्धको दमक अस्पतालको कोभिड उपचार केन्द्रमा आज बिहान २ बजे मृत्युु भएको हो । उनलाई जेठ ५ गते संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । दमकमा चैत २५ यता १७ जना संक्रमितको मृत्यु भइसकेको छ भने ६२८ जना सक्रिय संक्रमित छन् । त्यस्तै हल्दिवारी ४ का ५५ वर्षिय राय थरका पुरुषको गएराति ११ बजे उपचारका क्रममा मेची अस्पतालमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका पुस्कर निरौलाले बताए । योसँगै हल्दिवारीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ ।त्यस्तै गौरीगञ्ज ६ की ५७ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । जेठ १२ गते यादव थरकी महिलालाई उपचारका लागि दमक लादै गर्दा बाटैमा मृत्यु भएको स्वास्थ्य शाखाका रामचन्द्र मिश्रले बताए । योसँगै गौरीगञ्जमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ । त्यस्तै बाह्रदशी ६ की ७८ वर्षिया महिलाको पनि होम आइसोलेसनमै मृत्यु भएको छ । ती महिलाले जेठ १२ गते कोटिहोममा स्याम्पल दिएकी थिइन् । तर, उनको मृत्यु भएपछि मात्र आज उनको रिपोर्ट आएको छ । बाह्रदशीमा नयाँ भेरियन्टबाट यो पहिलो मृत्यु भएको हो । झापामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २३४ पुगेको छ ।