दमक , जेठ १६ । लिम्बुवान भोलेन्टियर्स केन्द्रीय कमाण्डले झापाको बिएण्डसीलाई मेडिकल कलेज सम्बन्धन दिने कार्य तुरुन्त रोक्न सरकारसँग आग्रह गरेको छ ।

लिम्बुवान भोलेन्टियर्सले आज एक प्रेस विज्ञप्ति जारी गरी डा. गोविन्द केसी अभियानका प्रेस संयोजक प्रितम सुवेदीमाथि गालीगलौज गर्ने कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई मिडियामार्फत सार्वजनिक रुपमा माफी माग्न चेतावनीसमेत दिएको छ । लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सिनियर उप–कमाण्डर गणेश मिभक लिम्बूले विज्ञप्तिमार्फत भनेका छन् ‘ डा.केसी अभियानका प्रेस संयोजक माथिको गालीगलौज गर्नेले मिडियामार्फत सार्वजनिक रुपमा माफी माग्नु पर्ने र तत्कालको अवस्थामा कोरोना उपचारका विरामीलाई विनाधरौटी उपचार गर्न बिएण्डसी हस्पिटललाई हार्दिक अपिल गर्दछौं । अन्यथा थप चरणवद्ध आन्दोलनमा लिम्बुवान भोलेन्टियर्स (एल.भी.) अगाडि बढ्ने यसै विज्ञप्तिमार्फत जानकारी गरिन्छ । ’
संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले चिकित्सा शिक्षा ऐन र नियमावलीलाई कुल्चदै बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रियाको घोर भत्र्सना र निन्दा गरेको छ । नेकपा सरकारले हतारमा २०७५ सालमा जबर्जस्ती चिकित्सा शिक्षा ऐन जारी गर्दै चोर बाटोबाट बिएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिन खोजकोप्रति आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ ‘ चिकित्सा शिक्षा आयोगको अनुसार २०७३ सालयता बिएण्डसीले आशयपत्र नविकरण नगरेकाले उक्त कलेज स्वत कानुनी हैसियतबाट बाहिरिसकेको हुँदा सरकारको जोडबलमा नियमावली मिचेर अस्पताललाई कलेजको सम्बन्धन दिएमा भोलेन्टियर्स हात बाँधेर चुप बस्ने छैन ।’ प्रधानमन्त्रीले कानून मिचेर यहि जेठ ११ गते आयोगको पूर्ण बैठक बोलाएर आयोगका पदाधिकारीलाई पेलेरै जबर्जस्ती सम्बन्धन दिने सरकारको योजना रहेको भन्दै भोलेन्टियर्सले घोर आपत्ति जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्