गौरादह,जेठ १७ । कोरोना संक्रमणका कारण एकैदिन दुई दाजुभाइको मृत्यु भएको छ ।

साविक जुरोपानी ८ र हाल गौरादह ७ घर भई भारतको लखनउ र काठमाडौंमा बस्दै आएका स्व.अशोक राईका छोराहरू जेठो करीब ५५ वर्षिय लक्ष्मी राई र माइला ५० वर्षिय भाइराजा राईको एकैदिन कोरोनाबाट मृत्यु भएको हो । भारतीय सैनिकको जागिरबाट सेवा निवृत भई जेठो लक्ष्मी सपरिवार लखनउमा बस्दै आएका थिए । उनको बिहान आज बिहान निधन भएको हो भने काठमाडौंमा अधिवक्ता रहेका भाइराजाको आज दिउँसो निधन भएको संविधानसभा सदस्य दीपक कार्कीले जानकारी दिएका छन् । लक्ष्मीकी श्रीमतीको स्वास्थ्य अबस्था पनि गंभीर रहेको उनले बताए । त्यस्तै कोरोनाले मोरङको उर्लाबारीमा पाँच दिनभित्र एकै परिवारका दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–२ मा पाँच दिनको अन्तरमा बाबु छोराको मृत्यु भएको हो। बुबा कुमार धिमालको जेठ १२ गते मृत्यु भएकोमा छोरा तेजबहादुर धिमालको आज निधन भएको हो ।
कोरोना संक्रमणका कारण तेजबहादुर जेठ ३ गतेदेखि झापाको बिएन्डसी हस्पिटलमा उपचाररत थिए। उनको आज दिउँसो १२ ः ४० मा मृत्यु भएको वडा अध्यक्ष राजन कँडेलले बताए। कुमार तत्कालिन उर्लाबारी गाविसका पूर्व उपाध्यक्ष हुन् । योसँगै उर्लाबारीमा कोरोनाको दोस्रो चरणमा मृत्यु हुनेको संख्या १८ पुगेको जनाइएको छ ।