झापा , जेठ १७ । पछिल्लो चौबीस घण्टामा झापाका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा र मेचीनगरका एक महिला र एक पुरुष छन् । अर्जुनधारा ३ की ५३ वर्षीया लिम्बू थरकी महिलाको उपचारका क्रममा आइतवार मध्यरातमा मेची कोभिड अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई एक साताअघि संक्रमण पुष्टि भएको थियो ।अर्जुनधाराका नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतका अनुसार मृतकको खुदुनाबारीस्थित सुखानी खोलामा नेपाली सेनाको टोलीले अन्त्येष्टि गरेको छ ।योसँगै कोरोनाको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
त्यस्तै मेचीनगरका थप एक जनाको सोमवार कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मेचीनगर–३ स्थित तेलपानीका ८३ वर्षीय बृद्धको बिहान १० वजे बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिका कोभिड संयोजक नबिन बरालले बताए । उनको जेठ १२ गते पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
यसैबीच झापाका थप २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९८ जना महिला छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर परीक्षणबाट १५५ र एन्टिजेन परीक्षणबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी भद्रपुर नगरपालिकाका ५९ जना संक्रमित भएका छन् । जसमा २३ जना महिला छन् ।यसैगरी, मेचीनगरका १९ महिलासहित ३६ जना, अर्जुनधाराका १३ महिलासहित ३२ जना, दमकका १४ महिलासहित २० जना, हल्दिबारीका ६ महिलासहित १९ जना र शिवसताक्षीका ३ महिलासहित १० जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै, बिर्तामोडमा १३ जना, बुद्धशान्तिमा ७ जना, गौरादहमा ४ जना, कनकाईमा ४ जना, गौरीगञ्ज, झापा र बाह्रदशीमा २–२ जना, कचनकवलमा ३ जना, कमलमा ४ जना र ठेगाना नखुलेका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । सोमवार झापाका १०८ जना कोरोना जितेर घर फर्किएका छन् ।




