सुरेश आले ‘सर्जु’,
बिराटपोखर, जेठ १८ । परम्परागत खेतीमा मात्र भर पर्दा गुजारा गर्न मुश्किल परेको यस समयमा बिर्तामोड ९ कोलाटोलीका मन्जिल बेघाले आफूसंग भएको १६ कठ्ठा जमिनमा माछा पोखरी र बंगुर फार्म संचालन गरेका छन् ।

उनीसंग भएको जम्मा जमिन नै त्यति हो । समय संगसंगै परम्परागत धान खेतीबाट मनग्ये आम्दानी नभएपछि उनले पशुपालन र माछापालन रोजेका हुन् ।
कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडबाट १५ लाख कर्जा सहयोगमा उनले कार्य थालेका छन् । संस्थाबाट उनले मासिक रु.३० हजार किस्ता तिर्ने गरी कर्जा लिएका हुन् । सो रकममा थप आफ्नो लगानी गरी जम्माजम्मी २० देखि २५ लाख लगानी गर्न ईच्छुक उनी विदेशमा भन्दा नेपालमै आम्दानी गर्न सकिने कुरामा विश्वस्त छन् ।
आजभन्दा पाँच महिना अगाडी पोखरी खन्ने काम र बंगुरको खोर निर्माण कार्य शुरु गरी अब केही दिनपछि सक्ने योजनामा छन् । माछाको लागि २ वटा मध्यम खाले पोखरी करिब १२ कठ्ठा जमिनमा छ ।त्यस्तै बंगुरको लागि ३०४५ मिटर साईजको खोर निर्माण भैसकेको छ । पोखरी खन्न केही काम बाँकी छ । त्यसपछि गोबर पोटास घोलेर केही दिन राखेपछि करिब १० हजार माछाका भुरा २ वटा पोखरीमा राख्ने तरखरमा उनी छन् ।

जमिनबाट ३ देखि साढे ३ फिट गहिराईमा पोखरी राख्न मिल्ने भए पनि उनको पोखरी ४ फिट गहिराईमा छ । त्यसैगरी बंगुरफार्ममा करीब ७० वटा बंगुर पाल्ने योजनामा उनी छन् । ६ वटा माउँ बंगुर पाल्न र बच्चा उत्पादन गर्न सकिनेगरी आफैंले खोर निर्माण गरेका छन् । अब माछाको लागि बोरिङ्ग र हेरालुको लागि क्वाटर घर निर्माणतर्फ उनको ध्यान केन्द्रित छ । ‘बंगुर लगभग हेमसायर जातको बच्चा फार्मबाट ल्याउनु पर्ला ’उनले भने ।
दुबै कामको लागि अहिलेसम्म कहिँकतैबाट तालिम लिएका छैनन् । औपचारिक फार्म दर्ता पनि गरेका छैनन् । तर, भौतिक काम सकेर सम्पूर्ण कागजी प्रक्रिया गर्ने तरखरमा उनी छन् । भन्छन् ‘यसो गर्नाले तालिम, अनुदान, सहुलियत कर्जा, बिद्युत, बिमा आदिमा सजिलो हुन्छ भन्ने सुनेको छु ।’ माछा र बंगुर दुवैले ५ महिनापछि भनेजस्तो भइदिए आम्दानी दिन्छ उनले सुनाए ।
दाई दधिराम बेघाले बिर्तामोड १० पत्थरभिट्टामा यस्तै प्रकृतिको फार्म संचालन गरेको र राम्रै आम्दानी गरेको सुनेर उनी प्रभावित भएका हुन् । उनीहरुले फार्म र केरा खेतीबाट राम्रै आम्दानी गरिरहेको सुनाए ।
बुबा ईन्द्र बेघा शिक्षक रहेका मन्जिलले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । रोजगार नभएपछि विदेश जान मन नलागेको र फार्म संचालन गरेको बताउने मन्जिल परिवारको एक्ला छोरा हुन् ।
जे होस्, रोजगारीको अभाव र परम्परागत धान खेतीकै भर नपरेर विभिन्न संघर्षसंग जुधेर मन्जिलले गरेको यो कार्य अन्य बेरोजगार युवाका लागि प्रेरणाको श्रोत बनेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्