झापा , जेठ २० । कोरोना भाइरसबाट नागरिकको जीवन बचाउन तत्काल सहजरुपमा खोप उपलब्ध गराउन झापाका नागरिक अगुवाहरुले सरकारसँग माग गरेका छन् ।

सम्वाद समूह झापाको संयोजनमा बिहीवार झापाका नागरिक समाजका प्रतिनिधिहरुबीच भएको भर्चुअल छलफलमा कोरोनाबाट बच्ने अन्तिम विकल्प खोप नै भएकाले तत्काल खोप उपलब्ध गराउन ध्यानाकर्षण गराइएको हो । उनीहरुको एउटै आवाज थियो — सरकार ! बाँच्नका लागि कोरोनाबिरुद्धको खोप देऊ । उनीहरुले सबै नागरिकलाई तत्काल निःशुल्क खोप उपलब्ध गराउन माग गरे । यदि सरकारले सबैलाई निःशुल्क खोप दिन सक्दैन भने सक्नेबाट शुल्क लिएर र विपन्नलाई निःशुल्क खोप उपलब्ध गराउन पनि नागरिक अगुवाहरुले सुझाव दिएका छन् । खोप खरिदका लागि संघीय सरकारले स्थानीय सरकार तथा अन्य सामाजिक एवम् निजी क्षेत्रलाई पनि अनुमति दिएर सहज बनाउनु पर्ने बताइएको छ । स्थानीय सरकार तथा निजी क्षेत्रले खोप खरिदका लागि चासो देखाइरहेका बेला संघीय सरकारले प्रक्रियालाई सहज बनाएर अघि बढ्नु पर्ने उनीहरुको भनाइ छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा झापा सभापति लोकराज ढकालले खोपलाई प्राथमिकता दिएर अघि बढ्न आग्रह गरे ।
गैर सरकारी संस्था महासंघ झापाका अध्यक्ष हरि गौतमले सबै नागरिकमा सहजरुपमा खोपको सुनिश्चता हुनु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले खोप उपलब्ध गराउन सरकारलाई नागरिकस्तरबाट रचनात्मक दवाव सिर्जना गर्नु पर्ने बताए ।
नेपाल बार एशोसिएसन झापाको मानवअधिकार समिति संयोजक टंकप्रसाद दंगालले खोप उपलब्ध र उपचार सहज बनाएर जिम्मेवार बन्न सरकारलाई आग्रह गरे ।
मानवअधिकारकर्मी डा. रुपक खनालले तत्काल नागरिकलाई खोप उपलब्ध गराएर नागरिकको जीवन बचाउन सरकारलाई आग्रह गरे । मानवअधिकारकर्मी डा. केपी सुबेदीले सबै नागरिकको पहुँचमा तत्काल खोप उपलब्ध गराई नागरिकको जीवन रक्षा गर्न आग्रह गरे ।
नारी सञ्चारगृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले नागरिक तहबाट दवाव सिर्जना गरी सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताइन् ।
कोचिला महिला फ्रन्टकी अध्यक्ष सनम राजवंशीले स्थानीय सरकारमार्फत भएपनि तत्काल खोप उपलब्ध गराउन आग्रह गरिन् । सञ्चारकर्मीहरु लक्ष्मी उप्रेती, नरेन्द्र ढकाल, बिनोद पाण्डेलगायतले विभिन्न सुझाव राखेका थिए । अधिवक्ता खगेन्द्र खरेलले सहजीकरण गरेको छलफलबाट पाँच बुँदे निष्कर्षसमेत निकालिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्