झापा ,जेठ २२ । पछिल्लो चौबीस घण्टामा झापाका सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोडका दुईजना रहेका छन् भने दमक , गौरादह , भद्रपुर , अर्जुनधारा र बाह्रदशीका एक–एकजना रहेका छन् । बिर्तामोड १ की बस्नेत थरकी महिलाको आज दिउँसो बिर्तासिटी हस्पिटलमा मृत्यु भएको छ भने बिर्तामोड ४ का ८५ वर्षिय विमली थरका बृद्धको होम आइसोलेसनमा गएराति मृत्यु भएको हो । एन्टीजेन टेष्ट गराएर ती बृद्ध घरमै बसेका थिए । कोरोनाको नयाँ भेरियन्टबाट बिर्तामोडमा हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै दमक र गौरादहका गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दमक १ घर भई बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचाररत २८ बर्षिय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको हो । योसंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या २१ पुगेको छ । दमकमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४०२ रहेको जनाईएको छ । २०९ महिला र १९३ पुरुष सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी, कोरोना संक्रमणबाट गौरादहकी थप एक बृद्धाको विराटनगरमा मृत्यु भएको छ ।विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचार गर्दै आएकी गौरादह नगरपालिका वडा न. ३ गौरीगाउँकी ६० बर्षिया बृद्धाको गएराति मृत्यु भएको नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।
मृतकमा मधुमेहको पनि समस्या रहेको थियो । योसँगै गौरादहमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट अर्जुनधाराका एक व्यक्तिको मृत्यु भएको छ ।अर्जुनधारा ११ का ६० वर्षीय लिम्बू थरका व्यक्तिको आज दिउँसो १ बजे मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि उनको बिर्तामोडको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको थियो । आज हस्पिटलमै मृत्यु भएको हो । उनको आज नै कनकाई माईमा अन्त्येष्टि गरिएको कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिए । योसँगै दोस्रो लहरमा अर्जुनधारा नगरपालिकामा १७ जनाको ज्यान गइसकेको छ । जसमा ७ जना महिला छन् ।

त्यस्तै बाह्रदशीमा कोरोना संक्रमणबाट गएराति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी ७ डाँगीबारी बजारका ५४ वर्षिय बर्देवा थरका पुरुष छन् । स्वास्थ्य अबस्था गंभीर बनेपछि उपचारका लागि बिर्तामोडको मनमोहन हस्पिटल पुर्याउनासाथ उनको मृत्यु भएको स्वास्थ्य शाखाका राम शाहले बताए । योसँगै बाह्रदशीमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या २ पुगेको छ । त्यस्तै भद्रपुर ६ का ८४वर्षिय प्रसाई थरका बृद्धको आज दिउँसो बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ । योसँगै कोरोनाको नयाँ भेरियन्टबाट भद्रपुरमा मृत्यु हुनेको सँख्या १८ पुगेको छ । त्यस्तै झापामा कूल कोरोना संक्रमित मृतकको सँख्या २६२ पुगेको छ । यसैबीच मोरङ उर्लाबारी ७ का ६० वर्षिय बृद्धको उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्