दमक, जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक २ स्थित हिमालय मावि र दमक ३ स्थित ढुकुरपानी माविमा निर्माण हुने भवनको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट उनले सोमबार ती दुवै विद्यालयको भर्चुअल रुपमा शिलान्यास गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा शिलान्यास गरेपछि नगर प्रमुख ओली तथा उपप्रमुख गीता अधिकारीले भौतिक रुपमा ती विद्यालयको भवन शिलान्यास गरेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार दुवै विद्यालयका भवन एक वर्षभित्रमा पूरा हुनेगरी सम्झौता गरिएको छ । नगरपालिकामार्फत निर्माण हुने दुवै विद्यालय भवनको लागत करिव ११ करोड रुपैयाँ रहेको छ । जसमध्ये ढुकुरपानीको ५ करोड ६६ लाख ३४ हजार १०९ र हिमाविको ४ करोड ३६ लाख रुपैयाँको लागत रहेको छ ।
यसभन्दा अघि पनि प्रधानमन्त्री ओलीले दमक बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवनको यसरी नै भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । क्यापसको भवन बनाउनका लागि संघीय सरकारले रु १० करोड बजेट उपलब्ध गराएको थियो ।
भर्चुअल शिलान्यास कार्यक्रममा दमक ३ का वडाध्यक्ष नविन बराललगायतको उपस्थिति रहेको थियो ।
छिट्टै दमक आउने छु ः ओली
प्रधानमन्त्री ओलीले आफू आफ्नो निर्वाचन क्षेत्रमा आउन ईच्छुक रहेको भएपनि वर्तमान अवस्थाका कारण आउन नसकिरहेको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमकका २ वटा सामुदायिक विद्यालय भवनको भर्चुअल रुपमा शिलान्यास गर्दे उनले भौतिक उपस्थितिमा नै शिलान्यास गर्ने ईच्छा रहेपनि त्यो पूरा नभएको भन्दै चाँडै दमक आउने विश्वास व्यक्त गरे ।
केही सहज अवस्था भएपछि म दमक आउनेछु भन्दै उनले प्रत्यक्ष भेटघाट गर्ने प्रतिवद्धता व्यक्त गरे । ।
शिलान्यासका क्रममा उनले जिल्लाकै गौरीगञ्जको स्मार्ट सिटी र दमककै निर्माणाधीन भ्यूटावरको बिषयमा पनि चासोसहित आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्