भद्रपुर, जेठ २५ । कोरोनाको दोस्रो लहर फैलिएयता गाँस जुटाउन समस्यामा परेका वडावासीप्रति जिम्मेवारी लिदै बिर्तामोड ८ का कार्यवाहक वडाध्यक्ष दिपक भट्टराई विपन्नको चुल्हो बाल्न तल्लिन देखिएका छन् ।

वडाभित्रका अतिविपन्न परिवारको पहिचान गरी वडा सरकारको जिम्मेवारी पूरा गर्न एक महिनायता दिनरात खटिरहेका भट्टराईले वडाभित्र चुल्हो निभ्न दिएका छैनन् ।
संकटमा नागरिकका समस्या हल गर्ने वचन दिएर जनमत पाएका भट्टराईले स्थानीय सरकारी कोषमा मात्र भर नपरी विभिन्न दाता खोजेर विपन्नको गाँस जुटाइरहेका छन् ।

स्थानीयका अनुसार भट्टराईले खाद्यान्न अभाव भएर भोकमा परेका वडाबासी थाहा पाउनेवित्तिकै खाद्यान्न आफैं पुर्याइदिने गरेका छन् । आफ्नै पहलमा खाद्यान्न जुटाइरहेका भट्टराईले स्थानीय सरकारी सवारी साधनको समेत प्रयोग गरेका छैनन् । आफ्नै निजी सवारी साधन प्रयोग गर्ने कार्यवाहक वडाध्यक्ष भट्टराईले ८ सय बढी व्यक्तिलाई खाद्यान्न जुटाइसकेको बताए ।
उनी भन्छन्— निजी स्वार्थका लागि नभएर मानव कल्याणका लागि विपन्नको चुल्हो बाल्न निरन्तर लागिरहने छु ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्