झापा , जेठ २६ । आगलागीमा परी गम्भीर घाइते भएकी एक बृद्धाको मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया चनमाया सापकोटाको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
आगलागीमा परी घाइते भएका ती वृद्धका छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको आधा शरीर जलेको छ। अहिले अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। मृतक वृद्धालाई आफन्तले दाहसंस्कारका लागि कनकाईस्थित माई नदी लगिसकेका छन्। गत सोमबार साँझ ८.४० बजे ग्यास लिक भएर घरमा आगलागी हुँदा आमासहित दुई छोरा घाइते भएका थिए। पति भगीरथको किरियामा बसेकी चनमायाले पानी तताउन ग्यास बाल्ने क्रममा आगलागी भएको थियो। आगलागीमा परी घाइते भएका तीनैजनालाई उपचारका लागि पाँचथर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा रेफर गरेपनि थप उपचारका लागि मेची अस्पताल भद्रपुर ल्याइएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्