झापा , जेठ २८ । धनुषामा पोखरीमा डुबेर एकैपटक पाँचजना बालिकाको मृत्यु भएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेको समयमा घर नजिकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेरका पाँच बालिकाको डुबेर मृत्यु भएको हो ।पोखरीबाट ५ जनाको शव निकालिएको छ भने अन्य दुई बेपत्ताको खोजी भइरहेको जनाइएको छ । एकै टोलकी पाँच जना बालिकाको एउटै पोखरीमा डुबेर मृत्यु भएपछि सिँगो टोलमै शोक छाएको छ । पीडित परिवार र आफन्तहरुको रुवाबासीले सिँगो टोल नै शोकमा डुबेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्