झापा , जेठ २८ । केही दिनयता संक्रमितको संख्याभन्दा निको हुने बढ्दै गएको झापामा पहिलोपल्ट एक हजारभन्दा बढी एकैपटक निको भएका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार एकैदिन १ हजार ४०७ जना डिस्चार्ज भएका छन् । बिहीबार संक्रमितभन्दा दोब्बर निको भएका थिए । शुक्रबार १०५ जनामा संक्रमण देखिँदा २११ जना डिस्चार्ज भएका थिए ।कोरोना भाइरसको महामारी चलिरहँदा पहिलोपल्ट यति धेरै संख्यामा संक्रमित निको भएर घर फर्किएका हुन् । योसँगै झापामा कोरोना संक्रमणलाई जित्नेको संख्या ९ हजार ७०१ पुगेको छ ।पछिल्लो २४ घण्टामा झापाका १२६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ८९ जना र एन्टिजेनतर्फ ३७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ६९ जना महिला रहेका छन् ।यो सँगै झापामा कुल संक्रमितको संख्या १२ हजार नाघेको छ । कार्यालयका अनुसार झापामा कुल संक्रमितको संख्या १२ हजार ७२ पुगेको छ ।संक्रमितमध्ये सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाका २६ जना छन् । जसमा १७ जना महिला छन् । यस्तै, बिर्तामोडका ११ महिलासहित २० जनामा पनि संक्रमण पुष्टि भएको छ ।यसैगरी, हल्दिबारीका १० महिलासहित १५ जना, शिवसताक्षीका ८ जना, कचनकवलका ६ जना, दमकका ७ जना, मेचीनगर र कमलका ४–४ जना, कनकाईमा ९ जना, झापामा ४ जना, बुद्धशान्तिमा ११ जना, बाह्रदशीमा २ जना, गौरादह र गौरीगञ्जका १–१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दमकमा ७ जना मात्र उल्लेख गरेपनि दमक नगरपालिकाले भने एकैदिन ६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले कूल १४० जनाको स्वाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । त्यसमध्ये शुक्रबार ६० जनामा कोरोनाको दोश्रो भेरियन्ट प्रमाणित भएको हो । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर करिब एक महिना अघिदेखि लगाएको निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सारिरहेको बेला दमकमा यतिका संक्रमण देखिनु थप जोखिम भएको अनुमान स्वास्थ्य अधिकारीले गरेका छन् ।
दमक नगरपालिका क्षेत्रमा एक महिना अघिदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा जारी छ । पछिल्लो समय थपिएको एक साताको निषेधाज्ञाको समय सकिनै लाग्दा दमकमा यस किसिमको चिन्ता बढेको हो । निषेधाज्ञाको पालनामा सर्वसाधारण सचेत नहुँदा कोरोना संक्रमण फैलिने क्रम रोकिन नसकेको बताइएको छ ।
झापामा सक्रिय संक्रमितको संख्या २ हजार ६८२ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।पछिल्लो २४ घण्टाभित्र झापामा ५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमा २ जना जिल्ला बाहिरका छन् । मृत्यु हुनेमा दमक २ का ७० वर्षीय पुरुष, अर्जुनधारा ८ की ७१ वर्षीया महिला र बिर्तामोड १ की ६२ वर्षीया महिलाको ज्यान गएको हो ।यस्तै, फिदिम ८ का ५४ वर्षीय पुरुष र उर्लाबारी ५ का ६५ वर्षीय पुरुषको पनि झापाका हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २९३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्