भद्रपुर, जेठ ३० । भद्रपुरस्थित मेची अस्पतालको सेवा प्रवाहमा स्तरीयता कायम गर्न ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसले नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटीलाई ८ बुँदे स्मरणपत्र बुझाएको छ ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल तथा भद्रपुर नगर सभापति मोहन महर्जनले संयुक्त हस्ताक्षर गरेको पत्रमा विपन्नको प्रमुख उपचारस्थल रहेको अस्पताललाई सेवाग्राहीमैत्री बनाउन स्तरीयता कायम गरिनु पर्नेमा जोड दिइएको छ । स्मरण पत्रमा अक्सिजन प्लान्ट निर्माणमा चासो दिनु पर्ने, विरामीको उपचारमा संवेदनशील रहनु पर्ने, पिसिआर परीक्षण व्यवस्थित बनाइनु पर्ने, अस्पताल परिसरमा नियमित सरसफाई हुनु पर्ने, अस्पतालमा मुटु रोग उपचार सेवा निरन्तर अगाडि बढाइनु पर्ने, कोभिडका विरामीलाई दिँइदै आएको खानामा पौष्टिकता थप हुनु पर्ने, अस्पतालमा चलिरहेको डाइलोसिस सेवा अपारदर्शी रूपमा ठेक्कामा लगाइदाँ सेवाग्राही मारमा परेकाले सच्याइनु पर्ने र अस्पताललाई मेडिकल कलेजमा स्तरीकरण गर्न थालिएको प्रयास निरन्तर अगाडि बढाउन ध्यानाकर्षण गराइएको हो ।

स्मरण पत्रमा भनिएको छ —‘देशको पूर्वी क्षेत्रका विपन्न लगायत यस भेगका ठूलो जनसंख्याको प्रमुख स्वास्थ्य संस्थाको रुपमा रहेको मेची प्रादेशिक अस्पतालको समग्र विकासमा विगतदेखि नै हाम्रो पार्टी नेपाली कांग्रेस निरन्तर रुपमा केन्द्रित रहँदै आएको तथ्य स्मरण गराउँदै गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि निम्न विषयहरुमा पार्टीको तर्फबाट गम्भीरतापूर्वक तपाईंको ध्यानाकर्षण गर्दछौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्