झापा, असार १ । झापामा ६२ देखि ६४ वर्ष उमेर समूहका लागि गत जेठ २६ र २७ गते कोरोनाको खोप लगाउने कार्यक्रम थियो । आबश्यकताभन्दा थोरै आएको र त्यसमा पनि आ–आफ्ना मान्छेलाई छानेर खोप लगाइदिँदा यतिबेला कोरोना खोपको व्यापक गुनासो छ ।

खोप लगाउन नपाएकाहरुले केन्द्रबाट प्राप्त भएको भेरोसिल खोपको विवरण सार्वजनिक गर्नुपर्ने सामाजिक संजालमार्फत माग गरेका छन् । बिर्तामोड नगरपालिकाले जेठ २६ र २७ गते खोप केन्द्र तोकेर कोरोना खोप लगाउने कार्यक्रम निर्धारण गरेको थियो । तर, २६ गते नै खोप सकिएपछि भोलिपल्ट करिव ४ हजार जना खोप लगाउन नपाई फर्किनु प¥यो । ‘पहिलो दिन पनि भीडामभीड थियो ’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले भने ,‘ भोलिपल्ट धेरैजना फर्केर जानुभयो । ’ बिर्तामोड नगरपालिकालाई १२३६ भाइल खोप उपलब्ध भएको थियो । जबकि नगरपालिकमा ६२ देखि ६४ वर्ष उमेर समूहका ५ हजारभन्दा बढी भएको अनुमान गरिएको छ । झापामा जम्मा १३ हजार २ सय भाइल खोप आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।कार्यालयले ती खोप जिल्लाका १५ वटा पालिकालाई वितरण गरेको थियो । कचनकवलले ५९१ , बिर्तामोडले १२३६ , कमलले ६६९ , कनकाईले ९०० , शिवसताक्षीले ९६६ , बाह्रदशीले ५०१ , झापा गापाले ५१६ , गौरादहले ७८९ , गौरीगञ्जले ४८९ , मेचीनगरले १६८९ , बुद्धशान्तिले ६२१ , अर्जुनधाराले ९०० र दमकले १३३५ भाइल खोप पाएको स्वास्थ्य कार्यालयका बालकृष्ण भण्डारीले बताए । उनले पालिकाहरुको जनसँख्यालाई हेरेर प्राप्त खोपलाई समुचित वितरण गरिएको जानकारी दिए । पालिकाहरुलाई उपलब्ध गराइएको खोप वितरणमा असन्तुष्टि आएको उनले स्वीकार गरे ।‘सबै जनालाई अगाडि नै लगाउन पाए भन्ने छ ’ उनले भने , ‘त्यही भएर समस्या देखिएको हो ।’
जिल्ला प्रशासन कार्यालयले ६२ देखि ६४ वर्ष उमेर समूहका जिल्लाका ज्येष्ठ नागरिकहरुका लागि २६ हजार ६०० भाइल माग गरेको थियो । तर , स्वास्थ्य मन्त्रालयबाट १३ हजार २०० भाइल मात्र उपलब्ध गराइएको थियो । ‘हामीले २६ हजार भाइल माग गरेका थियौं’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने ,‘मागेको आधा मात्र उपलब्ध भयो ।’
झापामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको सँख्या करिब २० हजार रहेको अनुमान गरिएको छ । तर , खोपको मात्रा १३ हजार २०० मात्र रहेको थियो । केही पालिकामा खोपको हाहाकार भइरहँदा केही पालिकाले भने खोप फिर्ता गरेका छन् । कचनकवलले पाएको ५९१ भाइल खोपमध्ये ३२१ वटा फिर्ता गरेको भण्डारीले जानकारी दिए । उनका अनुसार फिर्ता गरिएको खोप अन्य पालिकामा पठाइएको छ । जिल्लाका सबै पालिकाहरुलाई मिलाएर खोप उपलब्ध गराइएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताए । जिल्लाको कूल जनसँख्याको १.७५ प्रतिशत त्यस उमेर समूहको भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्