सुरेश आले ‘सर्जु’
बिर्तामोड , असार ४ । बिर्तामोड ९ बद्रीबाडी टोलमा निर्माणाधिन खानेपानी ट्यांकी असुरक्षित बनेको छ ।

२०६४ सालमा शुरु भएको आयोजनास्थल वरपर झार र घाँसपात उम्रिएर लथालिङ्ग बनेको छ । खानेपानी रुंग्ने एकजना मानिसको समेत ब्यबस्था गरिएको छैन ।
शुरुमा निर्माण गरिएका भवन जीर्ण बनेको छ । झ्याल ढोका बिग्रने अवस्थामा पुगेका छन् । खानेपानी ट्यांकीमाथि जाने फलामको गेट बिग्रिएको अवस्थामा छ ।जहाँबाट सजिलै जो कोही माथि जान सक्ने र लडेर दुर्घटना हुने सम्भावना बढेको हो । खानेपानी ट्यांकी परिसरमा कम्पाउण्ड वाल घेरिएको भएता पनि गेट खुल्लै रहनाले गाईबस्तु र मानिस सजिलै भित्र प्रवेश गर्न सक्ने अवस्था छ । गेटमा तालाचाबी पनि छैन ।

भर्खरै सामान प्रवेश गराउँदा भत्काईएको कम्पाउण्ड वाल मर्मत नगर्दा अझ जोखिम बढेको हो । स्थानीय युवराज पराजुलीले आफैले तालाचाबी किनेर केही साल लगाईदिएको बताए । निर्माण कार्य सुस्त गतिमा भएकोले यो अवस्था आएको अर्का स्थानीय घनश्याम सुबेदीले बताए ।
जिल्ला खानेपानी आफैले निर्माण कार्य अघि बढाईरहेको यस खानेपानीको काम सुस्त रहेको स्थानीय बताउँछन् । सैनिक बजार, नडियाबाडी, गरामनी, बिराटपोखरलगायतका क्षेत्रमा खानेपानी आपूर्ति गर्नेगरी २०५९ सालमा पारित गरिएको आयोजना हो यो । खानेपानी आपूर्तिको कुरा त परै जावोस् भएका संरचना समेत खेर जाने अवस्था पुगेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एकपटक सरसफाई कार्यक्रम भएको थियो । अहिले उस्तै झारपात उम्रिएको छ । कम्पाउण्ड वाल र अन्य भौतिक संरचना बिग्रदै गएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्