भद्रपुर, असार ६ ।ं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल चिकित्सक संघ र मेडिकल एशोसिएसन नेपालको सहकार्यमा विपन्नको उपचारमा सहजता ल्याउन मेची अस्पतालमा थालिएको प्रयासबारे प्रमुख सुपरिटेन्डेन्ट टंकप्रसाद बाह्रकोटीसँग छलफल गरेका छन् ।

आफ्नो पहलले चिकित्सक संघ र मेडिकल एशोसिएसनले अक्सिजन प्लान्ट र भेन्टिलेटर उपलब्ध गराउने निश्चित भएपछि जडानका लागि छिटो काम अगाडि बढाउन मेची अस्पताल प्रशासनको नेतृत्व लिएका बाह्रकोटीसँग सिटौलाले छलफल गरेका हुन् ।
निःशुल्क रुपमा अक्सिजन प्लान्ट र भेन्टिलेटर सहयोग आउने भएपछि सिटौलाले विपन्न नागरिकको ज्यान बचाउन अस्पतालमा व्यापक सुधार गरेर अगाडि बढ्न मेसु बाह्रकोटीलाई सुझाव समेत दिएका थिए । प्रदेश सभा सदस्य ओमप्रकाश सरावगी, क्षेत्रीय सभापति गणेश पोखरेल, वडाध्यक्षद्वय गौरव सुब्बा मनोज, बन्धु कार्की, नेपाली काँग्रेस जिल्ला सदस्य विजय रिजाल, महिला संघ क्षेत्रीय सभापति शर्मिला अधिकारीसहित अस्पताल पुगेका झापा क्षेत्र नम्वर ३ का पूर्व सांसद समेत रहेका सिटौलाले अस्पतालको नयाँ भवनको अवस्था, स्वास्थ्य सामग्री जडान गर्ने स्थल, स्वास्थ्यकर्मीको अवस्था र कोभिडका विरामीको चाप तथा उपचारबारे चासो राख्दै त्यसमा परेको कठिनाइ समेतको जानकारी लिएका थिए ।
सिटौलासँग कुराकानी गर्दै बाह्रकोटीले नेपाल सरकारले पनि अक्सिजन प्लान्टका लागि काम अगाडि बढाउने प्रकृयामा जाँदाजाँदै कोरोना महामारी बढेकाले रोकिएको बताउँदै नेपाल चिकित्सक संघ तथा मेडिकल एशोसिएसन नेपालमार्फत प्रतिदिन ११० सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट निर्माणको जानकारी प्राप्त भएको बताए । उनले सोही संघ तथा अन्य दाता गरी करिव ९ वटा भेन्टिलेटर समेत प्राप्त हुने भन्दै आफू अस्पतालभित्रका समस्या हल गर्दै सेवाग्राहीको सेवा प्रवाहमा प्रतिबद्ध रहने प्रष्ट पारेका थिए । भर्खरै अस्पतालको नेतृत्व लिएका बाह्रकोटीले अस्पतालमा उपचार सेवा प्रवाह गर्दाको ६ करोडबढी ऋण रहेका कारण समस्या परेको गुनासो समेत गरे । उनले स्वास्थ्य बिमा वापत ५ करोड भुक्तानी नआउँदा औषधी उपचारमा संकट परेको समेत जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्