झापा, असार ६ । संघीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले सिलिगुडी झापा पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आइतबार निरीक्षण गरेका छन् ।

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनियरिङ सर्भे पूरा गरेको छ । उनले भण्डारण गृह निर्माणस्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्वपूर्ण र गौरवको योजना भएको बताए । उनले प्रारम्भिक सर्भे सकिएकोले असोजदेखि सिलिगुडीको डिपोदेखि निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विछ्याउने परियोजना जीटुजीमार्फत गर्न नेपाल सरकार र भारत सरकारबीच समन्वयको पहल भइरहेको बताए ।
उनले पाइपलाइनको माध्यमद्वारा चारआलीको भण्डारणगृहसम्म पेट्रोलियम पदार्थ आउन सुरु गरेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासी समेत रोकिने बताए ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सुरु भएको दुई बर्षभित्रमा प्रोजेक्ट सकिने बताए ।

परियोजना निर्माणका लागि भारतीय मूल्य सात अर्ब २ करोड लागत लाग्ने उनले बताए । मेचीनगर नगरपालिका १३ मा रहेको निगमको २३ विगाह जमिनमा भण्डारण गृह निर्माणसँगै प्रदेश नम्बर १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उनको भनाई छ ।
मन्त्री यादवले मेचीनगर—६ काँकरभिट्टास्थित नेपाल इन्टरमोडल यातायात विकास समितको कार्यालयको समेत स्थलगत अनुगमन गरेका थिए । समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र सिभिल इञ्जिनियर कमलप्रसाद जोशी कार्यालय प्रमुख अम्बिका सुवेदीले मन्त्री यादवलाई सुख्खा बन्दरगाहसहित अन्य विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्