कमल, असार ७ । घरवारविहीन भएकी कमल गाउँपालिका वडा न. ७ गेउरियाकी अशक्त सानी केरुङ मगर ( जोगमाया ) ले सहयोगको याचना गरेकी छन् ।

श्रीमानले छाडेपछि साना तीन छोराछोरीको गुजाराका लागि उनले सबैसंग सहयोगको याचना गरेकी हुन् ।
शिवसताक्षी १ घर भएकी सानीको सानै उमेरमा बिहे भएकोमा चार बर्षअघि खुट्टा नचल्ने अवस्थामा पुगेपछि श्रीमानले छाडेको थियो । दैनिक ज्याला मजदुरी गर्दै आएकी उनले आफूलाई अचानक नशाका कारण हिडडुल गर्न समस्या भएपछि परिवार धान्न विचल्लीमा परेको सुनाइन् ।
श्रीमान प्रेम मगरले नहेरेका कारण आफू दुई बर्षयता गेउरियास्थित माइती घर आउन बाध्य भएको उनले बताईन् । तर, माइती घरको समेत अवस्था नाजुक छ । आमाबुवा नभएको र माइती परिवारका पनि सबै सदस्यहरु परिवार धान्न दैनिक मजदुरी गर्दै आएका छन् ।
माइतीमा समेत खान बस्न समस्या भएपछि उनी आफन्तको एक घरमा काम सघाउदै बस्दै आएकी छन् । आफन्तको घरमा समेत सधैभरि बस्न गाह्रो भएपछि खान,बस्नको प्रवन्ध गरिदिन उनले आग्रह गरेकी हुन् । उनले भनिन्, –‘आफूसंग घरजग्गा पनि छैन, सन्तानलाई कसरी हुर्काउने भन्ने मात्र चिन्ता लाग्छ ।’उनका १४ बर्षिय ठूलो छोरा मनोज आफन्तसंगै बस्दै आएका छन् । उनीसंग भने ११ बर्षिया ठूली छोरी मनु र ८ बर्षिया जेनिशा छन् । आफ्नो बेसहारा परिवारलाई सिधै सहयोग गर्न मोवाइल नम्बर ९८१५०७६७४१ मा सम्पर्क गर्न सकिने उनले बताइन् ।उपचारपछि केहि महिनायता भने खुट्टा चलाउन सुधार हुँदै गएकी उनले अगाडी थपिन् ,–‘यसो छाप्रो कसैले बनाईदिए आफै जनमन गरी परिवार पाल्ने थिएँ ।’
छाप्रो निर्माणमा चासो
अशक्त समेत रहेकी आर्थिक अवस्था अत्यन्तै नाजुक भएकी सानीको अवस्था देखेर स्थानीयले छाप्रो निर्माणमा चासो दिएका छन् ।
सामाजिक अगुवा शान्ता केरुङले सहाराविहीन सानीको अवस्था देखेर अस्थायी रुपमा बस्नका लागि टहराको व्यवस्था गर्न जुटेको बताईन् । उनले भनिन् ,–‘हामीले उनको छाप्रो निर्माणसंगै एकसरो पालनपोषण गर्न अभियानमा लागेका छौं ।’ उनको दिदीको स्थानीय धिमाल डाँडाको एक कठ्ठा जमिनमा अस्थायी टहरा बनाएर बिचल्ली सानीको परिवारलाई बसोबास दिलाउन जुट्दै आएको शान्ताले जनाईन् ।टहरा बनाउन शान्ताको संयोजकत्वमा एक समन्वय समिति गठन गरी काम थालिएको हो ।
त्यही समितिको सक्रियतामा सानीका लागि टहरासहित आधारभूत भौतिक सामग्रीको व्यवस्था गर्ने कार्य धमाधम भईरहेको उनले बताईन् । उनका अनुसार टहरा निर्माणमा हाल ३० हजार रुपैयाँ जुटिसकेको छ । त्यसै रकमबाट टहरा निर्माण भइरहेको हो । उनले असहाय परिवारको जिविकोपार्जन गर्न आवश्यक सामग्री समेत जुटाउन पहल भईरहेको बताईन् । उनले थपिन्, –‘ अशक्त सानीको परिवारलाई सबैले सक्ने सहयोग गरौं ।’