मिलन आले ‘सर्जु’,
बिर्तामोड , असार ८ । बिर्तामोड ९ कंचनटोलकी सुष्मा श्रेष्ठले तीन कठ्ठा जमिनमा भिन्डी खेती गरेकी छन् ।

उनले यसरी व्यावसायिक रुपमा भिन्डी खेती गर्न थालेको ४ वर्ष भयो । जमिनमा मलचिङ्ग प्रविधि अपनाएर गरिएको भिन्डी यो समयमा फुल्ने अवस्थामा छ । शुरुका वर्षदेखि नैे राम्रो आम्दानी दिन थालेपछि यो खेतीतर्फ उनको आकर्षण बढेको हो । जेठ पहिलो साता लगाएको भिन्डीले भदौ अन्तिमसम्म उत्पादन दिने गर्छ । प्रतिकिलो ७ हजार पर्ने महँगो हाईब्रिड बीउ प्रतिकठ्ठा २ सय ग्रामको दरले रोपिएको उनका श्रीमान यज्ञराज श्रेष्ठले बताए ।
भिन्डी टिप्न केही सकस भएता पनि असारदेखि नै यसले राम्रो मूल्य पाउने गर्छ । असार–साउनमा १२० रुपैयाँसम्म बिक्री भएको उनीहरुले बताएका छन् । एक सिजनमा ३० हजारसम्मको भिन्डी बिक्री गरेकी सुष्माले बर्षातको समयमा तरकारीको अभाव टार्दै यो बर्षे भिन्डी खेतीबाट राम्रो आम्दानी लिन सफल भएको बताइन् ।

त्यसैगरी कृषि कर्ममै लागेर कृषिलाई नै मुख्य पेशा बनाएकी गीता बिमलीको बारीमा लगाईएको भिन्डीले पनि अब केही दिनमा उत्पादन दिने छ । बिर्तामोड ९ बद्रीबाडीकी गीताले पनि सुष्मा श्रेष्ठकै हाराहारीमा ३ कठ्ठा जमिनमा बर्षे भिन्डी खेती गरेकी छन् । उनले पनि जमिनमा झारपात नआओस् भनेर प्लास्टिक ओछ्याएर मलचिङ्ग प्रविधि नै गरेर भिन्डी खेतीलाई निरन्तरता दिएकी हुन् ।
एक वर्षअघि गीता कृषि फार्म दर्ता गरी कृषिलाई व्यावसायिकरण गर्न लागेकी गीताले यो वर्ष भिन्डी खेतीबाट ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने सोंच बनाएकी छन् । बर्षातको समयमा अन्य तरकारी नहुने हुनाले यसको मांग त्यो समयमा उच्च हुनाले कृषकहरुमा बर्षे भिन्डी खेतीप्रति आकर्षण बढेको हो । गत वर्ष उनले यही खेतीबाट ३० हजार आम्दानी गरेकी थिईन् ।

त्यसैगरी बद्रीबाडीकै दुर्गा सेडाईको बारीमा पनि लहलह भिन्डीको बोट यतिखेर देख्न पाईन्छ । उनले पनि ३ कठ्ठा जमिन नै भिन्डी खेतीको लागि प्रयोग गरेकी छन् । प्रविधि पनि लगभग सुष्मा श्रेष्ठ र गीता बिमलीसँग मिल्दोजुल्दो छ । यही बर्षे भिन्डी खेतीबाट तरकारीको जोहोसंगै घर खर्च गर्ने सोंच उनको हो । विगत ४ वर्षदेखि नै उनले पनि बर्षे भिन्डी उत्पादनलाई निरन्तरता दिईरहेको बताईन् । गीता बिमली, सुष्मा श्रेष्ठ र दुर्गा सेडाईले यो खेतीबाट उस्तै उस्तै प्रकारको आम्दानी हुने गरेको बताएका छन् ।
त्यति मात्र होइन बिर्तामोड ९ मा यसरी व्यावसायिक रुपमा बर्षे भिन्डी खेती गर्ने महिला कृषकहरु दिनप्रतिदिन बढ्दै गएका छन् । बिर्तामोड ९ कोलाटोलीकी दिपा बस्नेतले पनि डेढ कठ्ठा जमिनमा यसको खेती गरी आम्दानी गरेकी छन् । उनले हाईब्रिड र लोकल दुबै भिन्डीको बीउ लगाएकी छन् । डाँडा जमिन हुने कृषकको लागि बर्षे भिन्डी आम्दानीको राम्रो श्रोत हुने गरेको उनको भनाई छ ।
भिन्डी खेतीसम्बन्धी सामान्य जानकारी
१. भिन्डीलाई रामतोरिया पनि भनिन्छ ।
२. यो कपास परिवारमा पर्ने तरकारी हो ।
३. यसको सुकेको बीउ भुटेर कफीको रुपमा पनि प्रयोग गरिन्छ ।
४. भिन्डीले पाचन क्रियामा सहयोग गर्दछ र यसबाट भिटामिन ए, बी र सी तथा फलाम पाईन्छ ।
५. भिन्डी खेतीलाई २५ डिग्रीदेखि ३५ डिग्री सेल्सियस तापक्रम उचित मानिन्छ ।
६. पानीको राम्रो निकास भएको बलौटे दोमट माटो यो खेतीका लागि उपयुक्त मानिन्छ ।