बिर्तामोड, असार ९ । नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमित र संक्रमणमुक्त भएकासहितका पत्रकारको मानसिक एवं मनोसामाजिक स्वास्थ्यमा टेवा पुर्याउन विशेषज्ञको मनोपरामर्श कार्यक्रम गर्ने भएको छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बुधबार सम्पन्न भर्चुअल बैठकले त्यस्तो निर्णय गरेको हो ।
महासंघले कोरोना भाइरसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श विषयक भर्चुअल कार्यक्रम असार ११ गते गर्नेलगायतका निर्णय गरेको महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए ।
कोभिड १९ बाट संक्रमित र संक्रमणमुक्त भएकाहरुलाई नियमित मनोपरामर्श दिने कार्यमा खटिरहेका विशेषज्ञ मनोविद् गोपाल ढकालले सहजीकरण गर्ने उक्त कार्यक्रममा यसअघि संक्रमित भई स्वास्थ्यलाभ गरेका, हाल आइसोलेसनमा रहेका तथा सबै पत्रकारलाई सहभागी गराउने निर्णय गरिएको छ ।
संक्रमण मुक्त भएकाहरुले गर्नुपर्ने आफ्नो हेरचाह, कसरी उच्च मनोवलका साथ सामान्य अवस्थामा फर्कने, संक्रमित पत्रकारहरुले स्वास्थ्य सुधारका लागि गर्नुपर्ने कार्य, आत्मबल बढाउनेबारे परामर्श, पत्रकार र आमनागरिकले कोरोनाको सन्दर्भमा ध्यान दिनुपर्ने विषयमा केन्द्रित हुने कार्यक्रममा सहभागिताका लागि सरोकार राख्ने सबैलाई आह्वान गर्ने निर्णय गरिएको छ ।

कोभिड–१९ को दोस्रो लहरले सञ्चार क्षेत्रमा पारेको प्रभाव तथा उत्पन्न समस्या र महासंघले हालसम्म गरेका कार्यबारे बैठकमा गम्भीर छलफल र समीक्षा भएको जनाइएको छ । हालसम्म झापाका ३४ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित बनेकोमा एक जनाको निधन भएको र २ जना हाल आइसोलेसनमा रहेका छन् ।साथै सबै पत्रकारलाई प्रविधिको प्रयोग गरेर भरसक घरबाटै काम गर्न र बाहिर जानैपर्ने भए स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूर्ण पालना गरेर मात्र काम गर्न बैठकले अपिल गरेको छ । कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान, समन्वय लगायतका कार्य गर्नका लागि उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा गठित समिति , कोभिड–१९ को दोस्रो लहरबाट सञ्चार क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने समस्यालगायत समग्र विषयको अनुगमन गर्न उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा गठित समिति र महासंघको वेबसाइट सञ्चालन र विवरण अद्यावधिका लागि महासंघका सचिव डिकेश लामाको संयोजकत्वमा गठित समितिको कामबारे एवं आर्थिक गतिविधिबारे कोषाध्यक्ष रञ्जित प्रसाईबाट बैठकमा विषयगत रिपोर्टिङ र समीक्षा भएको थियोे । उक्त तीनै समितिलाई अझ सक्रिय र आफ्नो कामलाई प्रभावकारी बनाउन बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्