कमल, असार ९ । झापा,कमल गाउँपालिका वडा न. ७ गेउरियाकी असहाय सानी केरुङ मगर ( जोगमाया ) लाई विदेशमा बस्ने एकजना महिलाले १० हजार बरावरको सहयोग सामग्री दिएकी छन् ।

श्रीमान प्रेमले छाडेपछि तीन छोराछोरीकी अभिभावक सानी केरुङ मगरको नाजुक अवस्था देखेर कमल ६ मंगलवारे घर भई हाल रोजगारीका क्रममा कुवेतमा बस्दैआएकी सामाजिक अगुवा कोपिला बस्नेत श्रेष्ठले पीडितलाई खाद्यान्नसहित अन्य भौतिक सामग्रीहरु दिएकी हुन् ।
जारी निषेधाज्ञाका कारण खान गर्न समस्या भएको परिवारलाई राहत पुर्याउन आफूले क्लवको समन्वयमा त्यस्तो सहयोग उपलव्ध गराएको उनले बताईन् । उनले यसअघि समेत स्वेदशका विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएकी छन् ।
असहाय सानीको कमल ७ स्थित धिमाल डाँडामा निर्माणाधीन टहरास्थलमा पुगेर मंगलवारेस्थित सगुन युवा क्लवको समन्वयमा बुधबार सो राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको क्लवका सल्लाहकार दिवाकर राईले बताए । राहत हस्तान्तरण कार्यक्रममा उनीसहित क्लवका सदस्य रुपनारायण निरौलालगायतको उपस्थिति रहेको थियो । पीडितलाई २५ केजी चामल,तेल,दाल,नुन,सोयाविन,सावुनसहित डस्ना,सिरक,खाना पकाउने ग्याँस र चुल्हो हस्तान्तरण गरिएको थियो । सहयोग वुझ्दै पीडितले मनकारीप्रति धन्यवाद दिएकी थिइन् ।
चार बर्षअघि खुट्टा नचल्ने अवस्था पुगेपछि श्रीमानले छाड्ेका उनी अर्काको घरमा बसेर जेनतेन गुजारा निर्वाह गर्दै आएकी छन् । आफन्तको घरमा समेत सधैभरि बस्न समस्या भएपछि घामपानी छल्ने छाप्राको व्यवस्था गरिदिन उनले आग्रह गरेकी छन् । उनले भनिन्, –‘आफूसंग घरजग्गा पनि छैन, परिवारलाई कसरी हुर्काउने भन्ने मात्र चिन्ता लाग्छ ।’
यसैवीच अशक्त समेत रहेकी सानीको नाजुक अवस्था देखेर स्थानीय सामाजिक अगुवा शान्ता केरुङ अस्थायी रुपमा बस्नका लागि टहराको व्यवस्था गर्न जुटेकी छन् । बिचल्ली सानीको परिवारलाई अस्थायी रुपमा भएपनि बसोबास दिलाउन टहरासहित आधारभूत भौतिक सामग्रीको व्यवस्था गर्ने कार्य धमाधम भईरहेको उनले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्