कनकाई, असार ९ । नगरमा क्रियाशील पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लवले स्थानीय सरकार कनकाई नगरपालिकालाई संचारमैत्री बन्न अनुरोध गर्दै बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ ।

कोरोना संक्रमणका कारण प्रेस क्लवका तर्फबाट आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै प्रतिनिधिमूलक सहभागितामा अध्यक्ष रामप्रसाद निरौला, उपाध्यक्ष सावित्रा दाहाल भट्टराई, सचिव मनोज बस्नेतसहितको पदाधिकारीहरुले कनकाई नगरपालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्र समेतको उपस्थितिमा नगर प्रमुख राजेन्द्र पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

क्लवले थप संचारमैत्री सुशासन कायम गर्न जोडदार माग गर्दै नगरपालिकाले सार्वजनिक गर्नुपर्ने सवै किसिमका सूचनाहरुमा नगरका कर्मचारी र विज्ञापन एजेन्सीवालाको एकाधिकार अन्त्य हुनुपर्नेतर्फ नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै कनकाई नगरपालिकामा जनप्रतिनिधिले नेतृत्व सम्हालेयता यो चार वर्षको नगरको बजेट पुस्तिकामा हरेक वर्ष विनियोजन भएको “कनकाई नगर पत्रकारिता पुरस्कार” अहिलेसम्म सार्वजनिक नभएको विषयमा प्रष्ट पार्नका लागि नगरप्रमुखको ध्यानाकर्षण गराइएको छ । क्लवका अध्यक्ष निरौला र सचिव बस्नेतद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा स्थानीय संचारकर्मीका साथै यहाँका संचारमाध्यमलाई प्राथमिकताका साथ सूचना उपलव्ध गराउन अनुरोध गरिएको छ ।

साथै आगामी दिनमा अझ व्यवस्थित तरिकाले संस्था सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक भौतिक पूर्वाधार विकास गर्ने क्लवको योजनालाई प्राथमिकताामा राख्न नगरपालिकालाई अनुरोध गरिएको प्रेस क्लवका अध्यक्ष निरौलाले बताए । नगरको आगामी आ.व.२०७८÷०७९ को वार्षिक बजेटमा क्लवको भवन निर्माणका लागि आवश्यक जमिन साथै बजेटको व्यवस्थापन गर्न स्थानीय सरकारलाई अनुरोध गरिएको क्लवका अध्यक्ष निरौलाले जानकारी दिए ।

प्रेस क्लवको ध्यानाकर्षण पत्र बुझ्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले समयसापेक्ष सूचना तथा संचार प्रविधिसँग आफू पनि नजिक रहेकाले स्थानीय तहलाई समेत संचारमैत्री बनाउँने प्रयासमा आफू सधैं सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । नगरपालिकाको तर्फबाट बजेटमा राखिएको कनकाई नगर पत्रकारिता पुरस्कार विविध कारणले हालसम्म सार्वजनिक नभएको बताउँदै चालु आर्थिक वर्षदेखि नै नगरपालिकाको विशेष कार्यक्रममा सार्वजनिक गर्ने योजना रहेको नगर प्रमुख पोखरेलले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्