बिर्तामोड , असार १२ । यतिबेला बिर्तामोडमा काठमाडौंको निराकर सरसफाई सेवा प्रा.लिको निकै चर्चा छ । बिर्तामोडको सरसफाई गर्ने ठेक्का त्यस कम्पनीलाई दिइएपछि खुशी हुनेसँगै विरोध गर्नेहरु पनि उत्तिकै छन् ।

निराकरलाई संझौता हस्तान्तरण गर्दै शिवाकोटी

आफ्ना नजिकको कम्पनीलाई त्यत्रो ठूलो ठेक्का दिलाउन सफल भएकोमा निकटतम्हरु हर्षित हुँदा स्थानीयलाई नदिएर काठमाडौंको कम्पनीलाई ‘सेटिङ’मा दिएको भन्दै विरोध गर्नेहरु पनि निकै छन् । गत जेठ ३१ गते  बिर्तामोड नगरपालिकाको फोहोर ब्यवस्थापनको जिम्मा त्यस कम्पनीलाई हस्तान्तरण गरिएको थियो ।
बिर्तामोड नगरपालिकामा एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवकुमार शिवाकोटी र कम्पनीका कार्यकारी प्रमुख रबिन भट्टराईबीच सम्झौता भएको सार्वजनिक गरिएको थियो । निराकार सरसफाई सेवा प्रालिलाई आगामी ३ वर्षको लागि बिर्तामोडको फोहोर ब्यवस्थापन गर्ने जिम्मा दिइएको हो । त्यस कार्यक्रममा निराकर कम्पनीको खुबै बखान गरिएको थियो । १५ वर्ष लामो अनुभव भएको देशकै ठूलो कम्पनी जोसँग धेरै जनशक्ति र उपकरण रहेको आदि इत्यादि भनिएको थियो । कार्यक्रममा नगर प्रमुख शिवाकोटीले अब नगर सफा र हराभरा बन्ने बताएका थिए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले लामो प्रतिक्षापछि नगरबासीले महत्वपूर्ण अवसर पाएको बताएका थिए भने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी,निराकार सरसफाइ प्रालिका प्रमुख रविन्द्र भट्टराई,६ नम्बरका वडा अध्यक्ष सूर्य कन्दङ्वालगायतले पनि बिर्तामोडको सरसफाईको योजना र निराकर कम्पनीको प्रशंसा गरेका थिए । निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्याइ ठेक्का लगाइएको भन्दै फोहोरमैला व्यवस्थापन र स्वास्थ्य बिमावापतको फार्मेसीको टेन्डर खारेज गर्नुपर्ने मागसहित स्थानीय युवाहरु आन्दोलित छन् । सातौं नगरसभाका दिन बिहीबार प्रदेश सांसद एकराज कार्की , नगर प्रमुख शिवाकोटी ,उपप्रमुख पवित्रा महतारा प्रसाई , प्रमुख प्रशासकीय अधिकृत दाहालसँगको छलफलमा नगर प्रमुख शिवाकोटीले पहिलो पटक नलागेर दोस्रो पटक निराकरलाई ठेक्का दिएको भन्दै त्यस कम्पनीको प्रशंसा गरिरहँदा सहभागी युवाहरुले दह्रो जवाफ फर्काएका थिए । हावादारी कुरा नगरी तथ्यगत कुरा गर्नुस् भन्दै सबुत प्रमाण पेश गरेपछि नगर प्रमुख शिवाकोटी चुप मात्र लागेनन् , साइनोमा ज्वाइँ कपिल न्यौपानेसँग माफी नै मागे । त्यसो त नगर प्रमुख शिवाकोटीले बोल्ने अधिकांश बोली आधारहीन र हावादारी हुन्छन् भन्ने कुरा आम नगरबासीहरुले बुझिसकेका छन् । पटक पटक उनी आफ्नै बोलीका कारण अप्ठ्यारोमा पर्ने गरेका छन् ।

निराकर कम्पनीको कागजात १
निराकर कम्पनीको कागजात २
निराकर कम्पनीको कागजात ३
निराकर कम्पनीको कागजात ४

आन्दोलित युवाहरुले निराकार काठमाडौंको ठूलो कम्पनी नभएको , गत वर्ष शून्य कारोबार गरेको , राज्यलाई कर नतिरेको जस्ता प्रमाण सबैको सामु पेश गरेका थिए । कम्पनीको वास्तविकता उजागर भएपछि नगर प्रमुखले बखान बन्द गरेका थिए । दुवै टेन्डर छानबिन गर्न कार्यदल बनिसकेकाले निराकर कम्पनीको बारेमा पनि छानबिन हुने प्रदेश सांसद कार्कीले बताए । ‘गत वर्ष कुनै काम नगरेको र बिर्तामोडमा काम गर्न नसक्ने अबस्था देखिए ठेक्का खारेज हुन्छ ’कार्कीले भने ।

संझौतापछि नगरपालिकामा १० लाख धरौटी राखेर त्यस कम्पनीले काम शुरु गरिसकेको छ । २०७१ मंसिर ८ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ इचोटमा सो कम्पनी दर्ता भएको थियो भने आन्तरिक राजश्व कार्यालय कोटेश्वरमा २०७७ चैत १० गते भ्याटमा दर्ता भएको देखिन्छ । गत वर्ष त्यस कम्पनीले कुनै पनि कारोबार गर्न सकेको देखिदैैन । त्यसो त बिर्तामोड नगरपालिकासँग संझौता गरेबमोजिम कम्पनीले काम गर्न सक्ने अबस्था देखिएको छैन । किनकि प्रथम पक्ष बिर्तामोड नगरपालिकाले दोस्रो पक्ष निराकर कम्पनीलाई ल्यान्डफिल्ड साइटको व्यवस्था गरिदिनु पर्ने संझौता भएको छ । बिर्तामोडमा फोहोरमैला संकलनको समस्या छैन , संकलित फोहोर डम्पिङ गर्ने ल्यान्डफिल्ड साइटको समस्या ठूलो हो । ल्यान्डफिल्ड साइट नभएरै बिर्तामोड नगरपालिका आफैले संचालन गरेको फोहोर व्यवस्थापनको काम सार्थक बन्न नसकेको हो । नगरपालिकाले ल्यान्डफिल्ड साइटको व्यवस्थापन गर्न नसके निराकर कम्पनीले संझौता बमोजिमको काम गर्न नसक्ने देखिएको छ । अहिलेसम्म ल्यान्डफिल्ड साइटको व्यवस्था गर्न नसकेको नगरपालिकाले अब कम्पनीको लागि तत्काल गर्नुपर्ने देखिएको छ । ‘अब नगरपालिकाले ल्यान्डफिल्ड साइटको व्यवस्था गर्नु पर्ने नै भयो ’प्रदेश सांसद कार्कीले भने ।

त्यस्तै संझौतामा यसअघि नगरपालिकाले प्रयोग गर्दै आएको सरसफाइका सवारी साधन र कर्मचारी अब उक्त निराकार कम्पनीले प्रयोग गर्ने छ । सरसफाइका लागि आवश्यक पर्ने स्रोत साधनको ब्यवस्थापन र कर्मचारीको तलब खर्च कम्पनीले ब्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ । कम्पनीले नगरभित्र रहेका घर,पसल,होटल,ब्यावसायिक फर्म,अस्पताल,विद्यालय कारखानालगायतबाट मासिक न्यूनतम १ सयदेखि बढीमा अवस्था हेरी २ हजार रुपैयाँसम्म शुल्क लिने र फोहोरमैला हप्तामा कम्तीमा ३ पटक उठाउनु पर्ने सम्झौता पत्रमा उल्लेख छ । जुन बिर्तामोडको लागि पहिलो प्रयोग हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्