झापा , असार १३ । झापामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याउने तयारी भएको छ ।

असार ७ गते एक साताका लागि थपिएको निषेधाज्ञा भोलि सोमबार सकिदैछ । भोलि बिहान जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले फेरि एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गर्न लागेको हो । ‘निषेधाज्ञा त नलम्ब्याई हुँदैन’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने ,‘ त्यसबारे भोलि डिसीसीएमसीको बैठक बसेर निर्णय गर्दैछौं ।’ तर ,जारी निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै लगिने उनले बताए । ‘ थप कुन कुन व्यवसायलाई खुकुलो बनाउन सकिन्छ त्यसबारे बैठकमा छलफल गर्छौं ’उनले भने । यसअघि नै व्यापार व्यवसाय बिहान ६ बजेदेखि १२ बजेसम्मका लागि संचालन गर्न दिइएको छ । होटल तथा रेष्टुरेन्टहरुलाई टेक– अवे सेवा मात्र सञ्चालन गर्न दिइएको छ । सार्वजनिक सवारी साधन चलाउन भने रोक लगाइएको छ । सार्वजनिक सवारी साधनलाई जोरबिजोर प्रणालीका आधारमा संचालन गर्न दिने विषयमा आजको बैठकमा छलफल हुने अनुमान गरिएको छ । राजधानीमा गरिने निर्णय अनुसार नै झापामा निषेधाज्ञा लम्ब्याउने गरिएको छ ।

राजधानीमा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याउने तयारी भएको छ । साथै जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी भएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने विषयमा छलफल गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको जानकारी दिए।उनले भने, ‘आज एक साता निषेधाज्ञा थप्ने र १५ गतेबाट जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिनेबारे छलफल भएको छ, आधिकारिक निर्णय भने भोलि फेरि एक चरण बैठक बसेर निर्णय गर्ने छौँ।’कोरोना संक्रमणदर अझै कम नभएकाले एक साता निषेधाज्ञा थप्ने तयारी भएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्