दमक, असार १४ । झापाको कमल गाउँपालिका वडा नम्बर ५ को कार्यालय भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

पाडाजुंगी चौकपूर्व पाथीभरा चौकको १७ धुर जमिनमा निर्माण गरिएको नवनिर्मित वडा कार्यालय भवनको एक नम्बर प्रदेशसभाका सुशासन तथा योजना समितिका सभापति अर्जुन राईले उद्घाटन गरे । उपभोक्ता समितिमार्फत प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको ५४ लाख गरी कुल ७९ लाख रुपैयाँको लागतमा सभाहलसहित ६ कोठे एकतले पक्की वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिए । भवन उद्घाटनपछि आजदेखि नै कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएको वडाध्यक्ष निरौलाले बताए । यसअघि वडा कार्यालय पाडाजुंगीस्थित एक भाडाको घरमा सञ्चालन हुदै आएको थियो ।
भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य राई, गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, साविक लखनपुर गाविसका अध्यक्ष भोजकुमार घिमिरे,समाजसेवी बिष्णु पौडेल, पूर्णानन्द शर्मालगायतले बोलेका थिए।

वडा सदस्य गीता गजुरेलले स्वागत मन्तव्य राखेको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ,कमल १ का वडाध्यक्ष केदार कटुवाल, सामाजिक अगुवा दिलिप बान्तवालगायत वडाध्यक्षहरु,वडासचिव,विद्यालयका प्रअ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भवन निर्माणका लागि स्थानीय सन्तोष,राजकुमार,नरेन्द्र,बिष्णु ,प्रेम र कृष्ण कार्की दाजुभाइले आफना दिवंगत पितृ चिनबहादुर र चन्द्रकला कार्कीको स्मृतिमा करिव ३० लाख मूल्य पर्ने १७ धुर जग्गा निशुल्क उपलव्ध गराएका थिए ।
२०७७ बैशाख २७ गते शिलान्यास गरिएको भवन बनाउन बलराम गजुरेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्नुका साथै जग्गादाता सन्तोष कार्कीको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति समेत गठन गरिएको थियो । कार्यक्रमको सञ्चालन वडासचिव रिता कार्कीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्