दमक, असार १४ । जिल्लाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् ।

कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८–०७९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।
झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको महशुल तिरिदिने अध्यक्ष जयनारायण शाहले बताए । उक्त विद्युत महशुल तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट रु २० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुुक एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले पाँच लाख रकम विनियोजन गरेको छ ।

यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८–०७९ को बजेटबाट कृषकहरुले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् । आकाशे खेतीमा निर्भर किसान र व्यावसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्ले बताईन् ।
झापा गाउँपालिकाले दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । सो औषधि खरिदका लागि पालिकाले १० लाख रकम विनियोजन गरेको छ । पालिकाले जन्म र मृत्यु संस्कार कार्यक्रमका लागि विगतमा दुई हजार सहयोग दिने गरेकोमा यस वर्ष बृद्धि गरी १० हजार प्रदान गर्ने गरी २० लाख बजेटमा विनियोजन गरेको पालिकाका अध्यक्ष शाहले बताए ।
झापा गाउँपालिकाकाले आर्थिक वर्ष २०७८–०७९ का लागि कूल ४५ करोड ७४ लाख पाँच हजार ५०० रुपैयाँको बजेट पारित गरेको छ । त्यस्तै कमल गाउँपालिकाले आव २०७८–०७९ का लागि कूल ७१ करोड ५९ लाख ९३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

१ प्रतिक्रिया

  1. हामी बिर्तामोड बासिहरुले कहिले आउला यस्ता खालका सेवा र सुबिधाहरु।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्