झापा , असार १४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसंगै आकांक्षीहरुको आकांक्षा एकपछि अर्को गर्दै व्यक्त हुन थालेको छ ।

खासगरी अबको झापा जिल्ला सभापति को हुने भनेर सबैको ध्यान केन्द्रित छ । पार्टीका जिल्ला उपसभापति राम कट्टेलले आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । त्यसपछि नेपाली कांग्रेसका युवा नेता राजेन्द्र घिमिरेले पनि त्यस्तो मनसाय ब्यक्त गरेका छन् । समयले माग्यो भने आफू पार्टीको जिल्ला नेतृत्व हाँक्न तयार रहेको उनले बताएका छन् । त्यस्तै पूर्व उपसभापति देउमान थेबे अबको जिल्ला अधिबेशनमा जिल्ला सभापतिको मुख्य दावेदार मानिएका छन् । गत जिल्ला अधिवेशनमा पनि उनले सभापतिमा लड्ने तयारी गरेका थिए । त्यसबेला उनलाई थामथुम गरिएको थियो । यस पटक भने उनले जिल्ला सभापतिमा उठ्ने दृढ इच्छा गरेको बुझिएको छ । ‘ घोषित क्यालेन्डर अनुसार महाधिवेशन हुन्छ कि हुँदैन त्यो हेर्नुपर्ने हुन्छ’ उनले भने ,‘ अधिबेशन नजिकिएपछि अनि तयारी थाल्ने छु ।’ झापामा आगामी साउन २६ गते जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ । करिब ३४ हजार क्रियाशील सदस्य रहेको झापामा पार्टीका जिल्ला सभापति उद्घव थापाले आफू दुई कार्यकाल सभापति बनिसकेको हुँदा अब तेस्रो पटक उम्मेदवार नबन्ने बताइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्