झापा , असार १५ । सरकारले धान सुपर जोन क्षेत्र घोषणा गरेको झापा जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ जिल्ला कृषि ज्ञान केन्द्र झापाले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव दक्षिणी झापाको कचनकवल गाउँपालिका १ स्थित घेरावारीमा मनाएको हो । गणेश कृषि समूहको सहकार्यमा आयोजित रोपाई महोत्सवमा हिले दौड प्रतियोगिता सम्पन्न गर्दै सहभागीहरूले सामूहिक रोपाई गरेका थिए । हिले दौड प्रतियोगितामा महिलातर्फ भूमिका गणेश प्रथम, संगीता गणेश द्वितीय, ललिता गणेश र रेणुका राजवंशी तृतीय भएका थिए भने पुरुषतर्फ लक्ष्मण गणेश प्रथम, अजय गणेश द्वितीय र प्रद्वग गणेश तृतीय भएका छन् ।

प्रथम र द्वितीय हुने महिला तथा पुरुषलाई स्प्रे ट्याङ्की, प्राङ्गारिक मल, र तेस्रो हुनेलाई प्लास्टिकको त्रिपाल पुरस्कार स्वरूप दिइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए । वैदेशिक रोजगारीका लागि युवाहरू विदेश जाने गरेका कारण खेतीपातीमा जनशक्ति अभाव हुन थालेपछि धान उत्पादन वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकहरूलाई कृषि औजारहरू अनुदानमा दिँदै आएको उनले बताए । जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती हुने गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ४ लाख ११ हजार २५० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस वर्ष ७ प्रतिशतले धान उत्पादन बढेको उनले बताए । अब आउने आर्थिक वर्षमा धान उत्पादन झन् बढ्ने बताउँदै उनले भने, ‘असार १ गतेदेखि नै जिल्लामा रोपाई सुरु भएकोले हालसम्म २० प्रतिशत रोपाई भइसकेको र एक हप्ताभित्र ४० प्रतिशतले रोपाइ बढ्ने छ ।’
जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षता तथा प्रदेश नम्बर १ का सांसद बसन्त बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका सहभागीहरूले राज्यले कृषिमा लगानी गर्ने र नारा तयार गरेर मात्र समृद्धि नआउनेमा जोड दिएका थिए । राज्यले कृषकलाई प्रोत्साहन गर्नुका साथै उत्पादन वृद्धिमा सहयोग पु¥याउने खालको नीति तथा कार्यक्रम ल्याए मात्र कृषिमा समृद्धि आउने उनीहरुले बताए । त्यस्तै जिल्लाका १५ वटा पालिकाले पनि स्थानीय कृषक समूहसँगको सहकार्यमा राष्ट्रिय धान दिवस मनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्