मेचीनगर , असार १५ । मेचीनगर नगरपालिकाले एकलौटी ढंगबाट सम्बन्धित पक्षहरूसंग छलफल र संवाद नगरी मेचे जातिलाई नगरको प्रथम जाति घोषणा गर्न लागेको भन्दै राजवंशी समाज विकास समितिले आपत्ति जनाएको छ ।

मेचीनगर नगरपालिकाले आठौं नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७८–७९ को बजेट, नीति तथा कार्यक्रममार्फत मेचे जातिलाई सम्मानसहित प्रथम जाति घोषणा गर्ने निर्णय गरेकोमा समाजले आपत्ति जनाएको हो ।
राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष दिनेश्वरप्रसाद राजवंशी, मेचीनगर अध्यक्ष दिनेश राजवंशी , केन्द्रीय सल्लाहकार पानीलाल राजवंशी, जिल्ला सचिव मुनिलाल राजवंशीलगायतले निर्णय सच्याउन माग गर्दै नगर प्रमुख विमल आचार्यलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।
वास्तविक प्रथम जाति हुने ऐेतिहासिक ठोस प्रमाणहरू के– के हुन् ? ती प्रमाण जुटाएर कार्यदल बनाई सम्बन्धित पक्षको पनि सहभागितामा प्रथम जाति घोषणा गर्न समाजले माग गरेको छ ।

मेचीनगर नगरपालिकाको साविक गाविसका नामहरू नकलबन्दा,काँकरभिट्टा,धुलाबारी, ज्यामिरगढी, दुहागढी त्यसैगरी कायाँटुली, तेलीवारी, हेद्लुवारी, गोलबारी, गजाबारी, मदनबारी, बमबारी, भाङ्गालाबारीलगायतका धेरै स्थानीय गाउँहरूको नामहरू राजवंशी भाषामा रहेको पुरानो प्रमाणहरू भएको राजवंशी समाज विकास समितिका जिल्ला सचिव मुनिलाल राजवंशीले बताए । ऐतिहासिक जातीय प्रमाणका आधारमा मेचीनगर नगरपालिकामा राजवंशी जातिको बलियो उपस्थिति रहेको हुँदा नगरपालिकाले राजवंशी जातिलाई नगरको प्रथम जातिको रूपमा घोषणा गर्नु पर्ने सचिव मुनिलालले बताए ।झापा, मोरङ र सुनसरीमा आदिमकालदेखि बसोबास गर्दै आएको भूमिपुत्रको रूपमा रहेको राजवंशी जातिको आफ्नै मौलिक भाषा, संस्कार ,संस्कृति, रहनसहन र भेषभुषा रहेको भन्दै समाजले नगरप्रमुख आचार्यलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । नगरले प्रथम जाति घोषणा गर्दा ऐेतिहासिक प्रमाणका आधारमा घोषणा गर्न समाजले नगरपालिकासंग माग गरेको छ ।
‘यस नगरको आदिवासीमध्ये मेचे जातिको भाषा र संस्कृतिलाई पनि उतिकै सम्मान गर्दछौ’ समाजले ध्यानाकर्षण पत्रमा भनेको छ ।समाजले राजवंशी जातिलाई प्रथम जाति घोषणा नगरे वा बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्