झापा , असार १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको लक्ष्मीपुरमा ट्राफिक प्रहरीले चेकिङ गर्ने क्रममा आज साँझ लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा इलाका प्रहरी कार्यालय घैलाडुब्बा र ट्राफिक प्रहरी पोष्ट लक्ष्मीपुरको संयुक्त टोलीले राजमार्गमा चेकिङ गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साँझ ६ बजे बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे६प ७५६९ स्कुटरमा सवार शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने २२ वर्षिय नवीन लिम्बुलाई चेकजाँच गर्दा लागूऔषध बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले लिम्बुको साथबाट डाइजोपम ९९ थान, फेनारगन–९९ र नाम उल्लेख नभएको सिसी रातो घेरा भएको ९९ थान लागूऔषध बरामद भएको बताए । लिम्बूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्