झापा , असार १६ । कडाइका साथ निषेधाज्ञा लागू गर्दासमेत झापामा कोरोना संक्रमण दर घट्न नसकेको अबस्थामा निषेधाज्ञा खुकुलो भएसँगै अझ बढ्ने खतरा देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले असार १४ गतेदेखि निषेधाज्ञालाई अझ खुकुलो बनाएको छ । बजार पसल दिउँसो ३ बजेसम्म खुला गर्न दिइएकोे छ भने निजी सवारी साधन, सिटी रिक्सा र अटोलाई जोरबिजोर प्रणाली अनुसार संचालन गर्न दिइएको छ ।झापामा कोरोना संक्रमणबाट बुधबार ५ जनाको मृत्यु भएको छ । त्यस्तै झापामा १७७ जनामा संक्रमण पुष्टि भएको छ । असार १ देखि असार १५ गतेसम्मको तथ्यांकलाई हेर्दा झापामा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु भइसकेको छ । १५ दिनको अवधिमा १ हजार ९६९ जनालाई संक्रमण देखिएको छ । देशभर कोरोना संक्रमणदर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार पाँच सय ६८ जनाको कोरोना परीक्षण गर्दा थप दुई हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले तीन हजार पाँच सय ५७ जना कोरोनामुक्त भएको पनि बताए ।
काठमाडौं उपत्यकामा थप पाँच सय ७२ जना संक्रमित व्यक्ति भेटिएका छन्। जसमा काठमाडौंमा चार सय ३६, ललितपुरमा एक सय ८९ र भक्तपुरमा ४७ जना रहेका छन् ।
प्रवक्ता पौडेलले केही दिनदेखि संक्रमणदर बढ्दै गएको बताए। उनले भने, ‘पहिलाभन्दा अहिले संक्रमणदर बढेको पाइएको छ, अहिले चार जनामा कोरोना परीक्षण गर्दा १ जना भेटिने गरेका छन्,संक्रमणदर २६.३ प्रतिशत पुगेको छ ।’
निषेधाज्ञा खुकुलो भएकाले सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न उनले अनुरोध गरे।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्